काठमाण्डौ । गरीबी निवारणको नाममा आफ्नै गोजी भरेका गरीबी निवारण कोषका ३६ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

आयोगले कोषका ती अधिकारीले मिलेमतोमा ४ करोड ३४ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै मुद्धा दायर गरेको हो ।

ताहाचल, काठमाण्डौमा रहेको गरिवी निवारण कोषका कार्य प्रबन्धकहरु, लेखाअधिकृतहरु, लेखा सहायक, वित्त तथा प्रशासन प्रमुख एवम् कार्यकारी निर्देशक समेतले एकआपसमा सरसल्लाह र मिलेमतो गरी आफूलाई गैरकानूनी लाभ पुर्याउने र गरीबी निवारण कोषलाई हानी नोक्सानी पुर्याउने बदनियले भ्रष्टाचार गरेको मुद्धामा दाबी गरिएको छ । 

भ्रष्टाचार मुद्धा दायर गरिएका कोषका कर्मचारी र तिनीहरुको नाममा गरिएको मागदाबी । 
फोटो स्रोत :अख्तियार

आरोपपत्रमा आ.व. ०६६।०६७ मा रु. ९६,२५,४३०।७५ (छयानब्वे लाख पच्चीस हजार चार सय तीस रुपैया र पैसा पचहत्तर मात्र), आ.व. ०६७।०६८ मा रु. १,८४,४२,९६९।(एक करोड चौरासी लाख बयालीस हजार नौ सय उनान्सत्तरी रुपैया मात्र) र आ.व. ०६८।०६९ मा रु.१,५४,१९,५१६।५० (एक करोड चौवन्न लाख उन्नाईस हजार पाँचसय सोह्र रुपैयाँ र पैसा पचास मात्र) समेत गरी ३ (तीन) आर्थिक वर्षको अवधिमा जम्मा चार करोड ३४ लाख ८७ हजार ९ सय १६ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरिएको छ । 

विभिन्न कार्यक्रम र त्यस बापतको भ्रमणका नाममा खर्च भएको भनी झूठा बिल भरपाई बनाई पेश गरी पेश्की फछर्यौट गर्ने गराउने कार्य गरी हिनामिना गरिएको अख्तियारको दाबी छ । 

भ्रष्टाचारमा संलग्न कोषका ३६ कर्मचारीमाथि कसूर अनुसार बिगो तथा सजायको माग गर्दै अख्तियारले मुद्धा दायर गरेको हो ।