काठमाण्डौ । पछिल्लो समय मानिस शहरमुखी भएका छन् । कमाउन शहर नै  जानुपर्छ भन्ने गलत मानसिकताले घर गरेको छ । तर गाउँमा खेतीपातीसँग जोडिएका कयौं कारोबार अझै पनि राम्रो छ, धेरै कमाउन सकिने खालको व्यवसाय गाउँमै बसेर पनि गर्न सकिन्छ । विदेशमा गएर अर्काको गुलामी गर्नुभन्दा गाउँमै केही व्यवसाय राम्रोसँग गर्न सकियो भने आम्दानी पनि राम्रो हुन्छ । यस्ता केही व्यवसायमा डेढदेखि २ लाखसम्म लगानी गरेर महिनाको आरामले ३० हजारसम्म कमाउन सकिन्छ । तर यसका लागि थोरै मेहेनत चाहि गर्नुपर्छ । 

गाईभैंसी पालन


यो व्यवसाय गाउँमै बसेर सुरु गर्न सकिन्छ । यसका लागि सुरुवाती लगानी दुुई लाख भए पुुग्छ । तपाईले यो कारोबार एक वा दुुई गाई वा भैंसीबाट सुरु गर्न सक्नुुहुन्छ । यसका लागि तपाईलाई एउटा राम्रो गाई वा भैंसी ८० हजारसम्मको दरले प्राप्त हुनसक्छ । बजारमा दूूधको मूल्य ७५ रुपैयाँ लिटरसम्म छ । तर तपाईले डेरी कम्पनी वा दूध बिक्रीका लागि संकलकहरुमार्फत जाँदा यो भन्दा केही कम मूल्य पाउनुहुन्छ । शहरमा आफैं लगेर दूध बिक्री गर्न सक्नुुभयो भने त्यसबाट राम्रो फाइदा हुन्छ । यस्तो व्यवसाय गर्नेलाई थोरबहुत सरकारी अनुदान पनि प्राप्त हुन्छ, यसका लागि जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय लगायतमा सम्पर्क गर्नुपर्छ । यो कारोबारबाट तपाईलाई प्रति महिना ३० हजारसम्मको कमाई हुनसक्छ । 

मौरी पालन


मह उत्पादनका लागि मौरी पालनको व्यवसाय निकै पुरानो हो । तर समयक्रमसँगै यो काम पनि मानिसले विजिनेशको रुपमा गर्न थालेका छन् । यो व्यवसायका लागि तपाईले डेढ लाख जति लगानीमा आफ्नो घर आसपासको क्षेत्रबाटै सुरु गर्न सक्नुुहुन्छ । यो कामका लागि तपाईलाई तालिमको आवश्यकता पर्छ, यस्तो तालिम जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गरेर लिन सकिन्छ । महको बजारका लागि उति ठूलो समस्या हुँदैन । ठूला डिपार्टमेन्टल स्टोरदेखि आफैं पनि बजारमा गएर बिक्री गर्नसकिन्छ, जनसम्पर्कबाट पनि महको ठूलो परिमाणमा बिक्री हुन्छ । यो कामबाट समेत तपाईलाई प्रत्येक महिना राम्रो कमाई हुनसक्छ । 

सागसब्जीको खेती


धान र गहुँको परम्परागत खेतीभन्दा तपाईलाई सागसब्जी खेतीले बढी रिटर्न दिन्छ । करिब १ लाख रुपैयाँको हाराहारीबाट यो व्यवसाय सुरु गर्नसक्नुुहुन्छ । अहिले उन्नत प्रविधिबाट सागसब्जी खेती गर्नेलाई सरकार तथा विभिन्न एनजीओ वा आइएनजीओले बिउ, मलमा सहुलियत समेत दिन्छन् । तालिम समेत निःशुल्क पाइन्छ । तपाईले आफ्नो खेतमा कोबी, टमाटर, काक्रा, प्याज, लसुन, खोर्सानी जस्ता सागसब्जी लगाएर कुस्त कमाउन सक्नुुहुन्छ । 

फूलको खेती


फूलको उच्च मागका कारण यसको खेती समेत पछिल्लो समय ठूलै स्केलमा हुन थालेको छ । नेपालको शहरी इलाकामा अझै पनि भारतीय फूलको दबदबा छ, यसको कारण हो नेपालमा प्रशस्त मात्रामा फूलको खेती नहुनु । त्यसकारण फूलको खेतीमा अझ ठूलो संभावना रहेको छ । यदि तपाईको आफ्नै जमीन छैन भने पनि  अरुको जमीन लिजमा लिएर फूलको खेती गर्न सक्नुुहुन्छ । तपाईले शहरका फूलका दोकानहरुसँग सम्पर्क राखेर फूललाई राम्रो मूल्यमा बिक्री गर्न सक्नुुहुन्छ । गुलाब, सयपत्री, मखमली, सूूर्यमुखी लगायतका फूलको खेती गर्न सकिन्छ । यसबाट तपाईले राम्रो कमाउन सक्नुुहुन्छ । 

माछा पालन


माछा पालन व्यवसाय पनि राम्रो आम्दानी दिने व्यवसायको रुपमा परिचित हुँदै गएको छ । यदि तपाईले लगानी बढाएर व्यवस्थित ढंगले यो व्यवसाय गर्नुभयो भने यसबाट मालामाल बन्न सकिन्छ । सानादेखि ठूला शहरसम्म माछाको माग औधी छ । नेपालमा खपत हुने माछामध्ये अधिकांश बंगालको खाडी तथा भारतबाट आयात हुन्छ । नेपालमै उत्पादन गर्नसके स्वदेशी उत्पादनलाई उपभोक्ताले मन पराउनेछन्, स्वास्थ्यको दृष्टिले समेत स्वदेशी उत्पादन बढी उत्कृष्ट हुन्छ । थोरै जमीनबाट समेत माछा पालन व्यवसाय सुरु गर्न सकिन्छ । पोखरी खन्दा निस्किने माटो बिक्री गरेर पनि आम्दानी हुन्छ । यो व्यवसायले तपाईलाई मासिक लाखौं रुपैयाँसम्मको आम्दानी दिनसक्छ ।