पेरिस । फ्रान्सको गुगल हेडक्वार्टरमा करोडौं कर छलीको आरोपमा छापामारी भएको छ । करिब १ सय कर अधिकृतहरुको टोलीले सेन्ट्रल पेरिसस्थित गुगलको अफिसमा रेड हानेको हो । आफ्नो अफिसमा कर अधिकृतहरुले रेड हानेपछि गुगलका अधिकारीहरुले भने आफूहरु फ्रान्सको कानून पालना गर्ने र अधिकारीहरुलाई यो जाँचमा पूरा सहयोग गरिरहेको बताएका छन् । उनीहरुले भनेका छन् कि कर अधिकृतहरुको प्रश्नको बिना छलकपट उनीहरुले सही उत्तर दिइरहेका छन् । कर अधिकारीहरुले गुगलमाथि १.८ अर्ब डलर(करिब २० हजार करोड) कर छलीको आरोप लगाएका छन् । 

स्रोतका अनुसार पेरिसस्थित गुगल अफिसमा बुधबार बिहानैदेखि बयान लिने काम चलिरहेको छ । फ्रान्सको अखबरा ‘लि पेरिसियन’ले लेखेको छ कि फ्रान्स, ब्रिटेन र कयौं देशहरुले गुनासो गरिसकेका छन् कि गुगलजस्ता ठूला कम्पनी उनीहरुको देशमा नाफा कमाउँछन, तर यी कम्पनीहरुको कर चुक्ताको आधार चाहि दोश्रो देशमा हुन्छ, जहाँ कर्पोरेट ट्याक्स निकै कम हुन्छ । यो मामला नेपालको एनसेलको कर छली प्रकरणसँग मिल्दोजुल्दो देखिन्छ । 

के हो विषय ?
गुगलको कर संरचना अनुसार उसलाई आयरल्याण्डमा ट्याक्स पेमेन्टको इजाजत छ । यतिसम्मकी उसले यूकेमै बिक्री देखाए पनि उसले ट्याक्स चाहि आयरल्याण्डमै तिर्छु भन्न पाउँछ । रोयटर्सले लेखे अनुसार गुगल आयरल्याण्ड लिमीटेड फ्रान्समा बित्तीय दायीत्व पूरा गर्न असफल बन्दै आएको छ । जनवरीमा गुगलले यूकेका कर अधिकारीहरुसँग सन् २००५ देखिकै १३ करोड पाउण्ड अतिरिक्त कर तिर्ने डिल गरेको थियो, यो सम्झौताको निकै धेरै आलोचना भएको थियो । 

यूकेको पब्लिक अकाउण्ट्स कमिटी(पिएसी)ले भनेको छ कि गुगलले यूकेमा गरेको व्यापारको आकारलाई हेर्दा उसँग १३ करोड पाउण्ड डलर कर तिर्ने सम्झौता हुनु निकै कम हो । 

यूरोपियन अधिकारी जाँच गर्दै
यूरोपीय देशमा कर चुक्ताको प्रक्रिया निकै जटिल हुन्छ । गुगल प्रकरणमा यूरोपिय कम्पिटिसन अथोरिटीले ठूला कम्पनीहरुले देशका कर अधिकारी वा निकायसँग डिलको बिषयमा कुरा गर्नु गैरकानूनी त छैन ? भन्ने बिषयमा समेत अनुसन्धान गरिरहेको छ । अप्रिलमा यूरोपियन युनियनले भनेको थियो कि ठूला कम्पनीलाई करको बारेमा धेरै भन्दा धेरै जानकारी सार्वजनिक गर्नका लागि बाध्य पारिनेछ । तर यो विषयले समेत अझै मूर्त रुप पाउन सकेको छैन ।