काठमाण्डौ । भारतको तमीलनाडू राज्यको सेलमबाट चेन्नई जाँदै गरेको रेलबाट फिल्मी स्टाइलबाट ९ करोड बढी रकम डकैती भएपछि पूरा भारतमा हलचल मच्चिएको छ । गुडिरहेको रेलको छत छेडेर भित्र पसेको डाका समूहले रिजर्ब बैंक अफ इण्डियाको ९ करोड भन्दा बढी नगद चोरी गरेको बताइएको छ । करिब ५ अर्ब ५० करोड रुपैयाँ बैंकको पैसा राखिएको रेलको डिब्बाबाट सो रकम चोरी भएको हो । तर विश्वका लागि यो पहिलो र अनौठो घटना होइन, विश्वमा यस्ता धेरै घटना छन्, जुन फिल्मी शैलीमा भएका छन् र डाँका समूह पत्याउनै नसकिने गरी करोडौं चोरी गर्ने सफलता प्राप्त गरेका छन् । 

लुफ्तान्सा डकैती
अमेरिकाको राजधानीको न्यूयोर्कस्थित जोन एफ क्यानेड एयरपोर्टमा सन् १९७८, डिसेम्बर ११ को रात यो डकैती भएको थियो । चोरहरुले सो क्रममा करिब ५० लाख अमेरिकी डलर नगद र ९ लाख डलर बराबरको सुनचाँदी र हिरामोतीको गरगहना उडाएका थिए । 

यो डकैतीलाई अमेरिकाको इतिहासमा भएका सबैभन्दा ठूला डकैतीका घटनामध्ये एक मानिन्छ । यो चोरीको योजना आपराधिक परिवारका एक सदस्य जिमी बर्कले अन्य ६ जना मानिससँग मिलेर बनाएका थिए । डकैतीको त्यो योजना यति पोख्त र उत्कृष्ट थियो कि, हालसम्म अनुसन्धान र खोजी गर्दा समेत डकैती भएकोमध्ये निकै सानो रकम र थोरै गहना मात्र प्रहरीले फेला पार्न सकेको छ । यो निकै ठूलो डकैतीको बिषयमा अमेरिकामा ‘द १० मिलियन डलर गेट्वे’ र ‘द बिग हेस्ट’ नामका दुई चलचित्र नै बनाइएको छ । करिब ३६ वर्षअघि भएको यो डकैतीको वर्तमान मूल्य करिब २.५ अमेरिकी डलर हुन आउँछ । 

एबीएन एम्रो डकैती


यो डकैतीको घटना बेल्जियमको ऐन्वेर्प शहरस्थित एबीएन एम्रोको शाखामा सन् २००७, मार्चमा भएको थियो । बैंककै एक भरोसायोग्य नियमित ग्राहकले करिब २.८ करोड डलर मूल्यको हिरा चोरेका थिए । यो चोरीको योजना समेत यति उत्कृष्ट र सही ढंगले बनाइएको थियो कि, आजको मितिसम्म पनि प्रहरीले डकैतीको सो घटनाका नाइकेलाई पक्रन सकेको छैन र चोरीको हिरा समेत फेला पार्न सकेको छैन । 

इराकी केन्द्रमा बैंक डकैती
सन् २००३, मार्च महिनामा अमेरिकी हवाई हमलाभन्दा ठीक केही दिनअघि तत्कालीन तानाशाह सद्धाम हुसैनका छोरा र उनका साथीहरुले इराकको केन्द्रीय बैंकबाट १ अर्ब डलर राशि डकैती गरेका थिए । यसमध्ये ९० प्रतिशत बढी राशि १ सय अमेरिकी डलरवाला करेन्सीको गड्डी चोरी गरिएको थियो । बाँकी रकम चाहि यूरो डलरको गड्डी थियो । यो डकैती लगत्तै सद्धामका पुत्र उदयको घरबाट ६५ करोड डलर बरामद गरिएको थियो । मानिएको छ कि यो रकम सद्धामका पुत्रलाई प्राप्त सो डकैतीको हिस्सा थियो । सद्धामका सेना र अमेरिकी फौजबीचको संघर्षको क्रममा बाँकी करिब २५ करोड डलर नगद एक बख्तरबन्द गाडीमा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । यसलाई एक व्यक्तिको योजनामा भएको विश्वकै सबैभन्दा ठूलो डकैती मानिएको छ । 

ऐंत्वेर्प डायमण्ड सेन्टरको डकैती


यो डकैतीलाई विश्वकै सबैभन्दा ठूलो सेफ डिपोजिट बक्सको डकैती मानिन्छ । यो घटना बेल्जियमको ऐंत्वेर्प डायमण्ड सेन्टरमा सन् २००३, फेब्रुअरीमा भएको थियो । चोरले सो सेन्टरबाट १६० देखि १२३ नम्बरका सुरक्षित बाकसमा राखिएका करिब १० करोड डलर मूल्यको हिरा उडाएका थिए । छानबिनमा संलग्न अधिकारीहरुले पछि भनेका थिए कि यो डकैतीमा सेन्टरभित्रकै कुनै व्यक्तिको हात थियो, जसलाई त्यहाँको सुरक्षा सिस्टमको सबै कुरा थाहा थियो । पछिबाट पत्ता लाग्यो कि ‘स्कूल अफ टिन’ नामको समूहका पाँच व्यक्तिले यो घटना गराएका थिए । यो गिरोहको सम्बन्ध लियोनार्दो नोटारबारतोलोसँग थियो । जब नोटारबारतोलो पक्राउ परे, उनले भनेका थिए बिमा कम्पनीबाट मात्र उनले २ करोड डलर चोरी गरेका थिए । चोरी भएको हिराको अहिलेसम्म कुनै अत्तोपत्तो छैन । 

पेरिसमा ज्वेलरी स्टोरको डकैती
सन् २००७, अक्टोबरमा पेरिसको ह्यारी विन्स्टन ज्वेलर्समा भएको यो डकैती चार व्यक्तिले गराएका थिए । घटनाको दिन चारजना निकै चलाख बदमास बिल्डरको रुपमा त्यहाँ आएका थिए र चलाख्याईपूर्वक ३.५ करोड डलरको गहना उडाएका थिए । घटनाको करिब ४ वर्षपछि यी चार बदमासलाई ७.८ करोड डलर मूल्यका महंगा सामानको साथमा प्रहरीले पक्राउ गरेको थियो । यीमध्ये ३ जना चोर महिलाको भेषमा थिए । यो गिरफ्तारीबाट कयौं ठूला चोरीको खुलासा भएको थियो । त्यसपछि यो समूहका मास्टरमाइण्डसहित ८ व्यक्ति पक्राउ परे । यी व्यक्तिहरुलाई त्यहाँको कानून अनुसार न्यूनतम ९ महिनादेखि १५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो ।