काठमाण्डौ । तिहार र छैठको विदापछि दिनहुँजसो पहिरो गइरहेको पूँजीबजार साताको अन्तिम कारोबार दिन झिनो अंकको बढोत्तरीसँगै बन्द भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ०.३१ अंकले वृद्धि भई १६९७.१७ कायम भएको हो । तीनवटा समूहको परिसूचकमा झिनो बढोत्तरी भए पनि बाँकी समूहमा भने बिहीबार पनि रातो नै पोतियो । 

बजारमा १ सय २९ कम्पनीका १० लाख ६५ हजार बढी सेयर ७० करोड ८० लाखमा किनबेच भयो । दशैंतिहार र छैठको अवधिमा ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा, बैंकहरुकाले मुद्धती निक्षेपमा ब्याज बढाई लगानीलाई आकर्षित गर्दा पछिल्लो समय सेयर बजारमा दिनहुँजसो ठूलो अन्तरको गिरावट आइरहेको थियो । 

चूपचाप बसेका संस्थागत लगानीकर्ता सलबलाउन थालेका र आगामी सातादेखि पूँजीबजारको उकालो यात्रा सुरु हुने विश्लेषकहरुले प्रक्षेपण गरेका छन् । 

बिहीबार वाणिज्य बैंक समूह २.२२ अंकले उकालो लाग्यो । होटल समूह ३१.०१ अंकले उक्लियो भने अन्य समूहमा ८.३९ अंकको बढोत्तरी देखियो । 

विकास बैंक समूह ९.८८ अंकले ओरालो लाग्यो । बिमा समूह ३६.४२ अंक, बित्त समूह ५.७६ र जलविद्युत समूह ०.२८ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
बिहीबार  सबैभन्दा बढी वाणिज्य बैंक समूहकै कारोबार भयो । यो समूहको ३५ करोड बढीको सेयर किनबेच भयो । बिमा समूहको १६ र विकास बैंक समूहको १३ करोडको सेयर कारोबार भयो । 

कम्पनीगत हिसाबले बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ४ करोड ३१ लाख बराबरको कारोबार गर्यो । सिभिल बैंकले ४ करोड १२ लाख, एभरेष्ट बैंकले ३ करोड ६१ लाख, शिखर इन्स्योरेन्सले २ करोड ८७ लाख, स्वाबलम्बन लघुवित्त विकास बैंकले २ करोड ८६ लाखको कारोबार गरे । स्वालम्बन विकास बैंकले बिहीबार मात्रै आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको घोषणा गरेको छ । यही घोषणाले यो कम्पनीको सेयरमा लगानीकर्ताको चाप बढेको हो । 

यसैगरी, भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले २ करोड ६० लाख, कुमारी बैंकले २ करोड ३३ लाख, एनएमबी बैंकले १ करोड ९५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले १ करोड ८२ लाख र सानिमा बैंकले १ करोड ७० लाख बराबरको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बिहीबार सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले कमाएका छन् । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा वृद्धि भयो । सिर्जना फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य पनि ४ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

आइएलएफसीओ माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले बिहीबार धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, धेरै कारोबार भए पनि स्वाबलम्बन विकास बैंकको सेयर मूल्य पनि ६.६१ प्रतिशतले घट्यो । मुक्तिनाथ विकास बैंकको सेयर मूल्य पनि ५ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो ।