काठमाण्डौ । राजधानीमा भेला भएका देशभरका घरेलु तथा साना उद्योगीहरुले आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उद्योग प्रवद्र्धनको स्पष्ट नीति ल्याउन सरकारसँग माग गरेका छन् । 

उनीहरुले घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन तथा बिस्तार, समग्र व्यवसायको प्रवद्र्धन र स्वदेशी वस्तुको उपयोगमा प्राथमिकता दिने गरी औद्योगिक व्यवसाय ऐन जारी हुनुपर्ने माग पनि गरेका छन् । 

देशभर छरिएर रहेका घरेलु तथा साना उद्योगीहरुको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासंघको राजधानीमा जेठ २४ र २५ गते सम्पन्न २३ औं महाधिवेशनमा भेला भएका उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन् । 

उनीहरुले सरकारले आत्मनिर्भर अर्थतन्त्रको कुरा गरे पनि साना तथा घरेलु उद्योग प्रवद्र्धनको नीति फितलो रहेको आरोप समेत लगाए । ‘घरेलु तथा साना उद्योगको प्रवद्र्धन गर्न सकिए मात्र देशबासीले देखेको आत्मनिर्भर अर्थतन्त्र संभव छ ।’ महाधिवेशनमा सहभागी उद्योगीले भनेका छन्–‘यसका लागि सरकारले व्यवहारिक रुपमा उद्योगीमैत्री नीति ल्याउनुपर्यो, स्वदेशी पूँजी फसेका उद्योगहरुको प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्यो ।’ 

उनीहरुले घरेलु तथा साना उद्योगको क्षेत्रमा देखिएको स्वदेशी कच्चा पदार्थ तथा दक्ष जनशक्ति अभावको समस्याको समाधानको बिषयमा समेत छलफल गरेका थिए । उनीहरुले सरकारसँग दक्षता र सीपका आधारमा साना उद्योगीलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउन समेत मागेका छन् । 

महाधिवेशनले महाभूकम्पका कारण ३२ जिल्लामा क्षतिग्रस्त भई अझै बन्द रहेका र रुग्ण अवस्थामा संचालित १७ हजार ७ सय ६ वटा साना तथा घरेलु उद्योगहरुको पुनस्र्थापना तथा पुरानै रफ्तारमा संचालनका लागि अभियान थाल्ने निश्कर्ष समेत निकालेको छ । ‘अबको हाम्रो नेतृत्वको पहिलो प्राथमिकता नै भूकम्पले क्षतिग्रस्त उद्योगहरुको पुनस्र्थापना हुनेछ ।’–महासंघको नवनिर्वाचित उपाध्यक्ष मोहन कट्वालले भने  । 

उनका अनुसार महासंघको २३ औं महाधिवेशनबाट श्याम गिरीको अध्यक्षतामा १ सय १ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चुनिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेशप्रसाद सिंह रहेका छन् । यसैगरी, उपाध्यक्षहरुमा कट्वालसहित चन्दनकृष्ण श्रेष्ठ, विष्णुबहादुर लुइँटेल, शोभा गुरुङ, कुमार गिरी, पूर्णबहादुर भण्डारी निर्वाचित भएका छन् । महासचिवमा डम्बरप्रसाद रेग्मी चुनिएका छन् भने कोषाध्यक्ष, सचिव र सहकोषाध्यक्षमा क्रमशः सत्यनारायण प्रजापति, प्रमिला बस्नेत र शंकरप्रसाद आचार्य सर्वसम्मत भएका छन् । 

उपत्यका र ७ वटा प्रदेशबाट प्रदेश अध्यक्ष समेत बनाइएको छ । उपत्यका अध्यक्षमा प्रकाशबहादुर कायस्थ निर्वाचित भएका छन् । यसैगरी, प्रदेश उपाध्यक्षहरुमा १ नम्बरबाट राजेश कोइराला, २ नम्बरबाट सत्यनारायण अग्रवाल, ३ बाट सूर्यबहादुर कँडेल, ४ बाट हरिहर थापा, ५ बाट नेत्रप्रसाद पाठक, ६ बाट चन्द्रबहादुर बिसी र ७ बाट प्रकाश रावल निर्वाचित भएका छन् । 

महासंघमा देशका ७५ वटै जिल्लाका करिब ३० हजार घरेलु तथा साना उद्योगीको आबद्धता छ ।