काठमाण्डौ । बुधबार साँझ आठ बजेतिर सत्तापक्ष र विपक्षीबीच सरकारको परिपत्र फिर्ता लिने, त्यस विषयमा एमालेसँगको सहमतिमा मात्र सरकार अघि बढ्ने र एमालेले संसद्को अवरोध हटाउने सहमति भएपछि संसद् सञ्चालन भएको थियो ।

घर पुगेका मन्त्री र सांसद बोलाएर कोरम पुर्‍याइयो
विपक्षी एमालेसँगको सहमतिमा खुलेको संसद् गणपूरक संख्या नपुगी स्थगन भएपछि घर पुगेका सांसद र मन्त्रीहरूलाई बोलाएर सत्तापक्षले कोरम पुर्‍याएको थियो । मधेसकेन्द्रित दलसँगको सहमतिअनुसार वैशाख १८ भित्र संशोधन विधेयक पारित गरिसक्न बिहीबार नै संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गराउने तयारीमा सत्तापक्ष थियो । तर, विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्न लाग्दा नेमकिपाका प्रेम सुवालले कोरमको कुरा उठाउनुभएको थियो । सभामुखले गणना गर्दा १ सय २८ जना मात्र सांसद उपस्थित थिए ।

कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न एक चौथाइ १ सय ४९ सांसदको उपस्थिति चाहिन्छ । त्यसपछि आघा घन्टा बैठक स्थगन गराएर घर पुगेका सांसद र मन्त्रीहरूलाई बोलाइएको थियो । कोरम पुगेपछि संसद्ले संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको थियो । विचार गरियोस् भन्ने प्रस्ताव पारितसँगै उक्त विधेयकमाथि संशोधन हाल्न ७२ घन्टाको समयावधि पनि सुरु भएको छ । अर्को बैठक वैशाख १७ गते बोलाइएको छ । वैशाख १९ गते स्थानीय तहमा उम्मेदवारी दर्ताको समय निर्धारण गरिएकाले १८ गते संविधान संशोधन विधेयक पारित गराउने पक्षमा सत्तापक्ष छ । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।