काठमाण्डौ । बजारमा भएको बढोत्तरीसँगै म्युचुअल फण्डको अवस्था समेत मजबुत बन्न थालेको छ । सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताहरुका लागि सुरक्षित लगानीको विकल्प मानिएको यस्ता स्किमहरु समेत बिस्तारै नाफामा जान थालेका हुन्।

यही क्रममा अन्य स्किम झै एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले प्रवद्र्धन गरेका दुवै म्युचुल फण्डको खुद सम्पत्ति मुल्य पनि बढेको छ ।

सात वर्षे बन्दमुखी म्युचुअल फण्ड 'एनआइबिएल समृद्धि फण्ड-१' को खुद सम्पत्ति मुल्य(एनएभी) फागुन मसान्तको तुलनामा चैत मसान्तमा बढेको छ ।

फागुन मसान्तसम्म एनएभी १२ रुपैयाँ ७७ पैसा रहेकोमा बढेर चैत मसान्तसम्म १५ रुपैयाँ ९८ पैसा पुगेको हो ।

१ अर्बबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म ८७ सूचिकृत कम्पनीको सेयरमा १ अर्ब १५ करोड लगानी गरेको छ । ३ करोड ३० लाख विभिन्न ऋणपत्र, १० करोड ७८ लाख सार्वजनिक निश्कासन, बोनस र हकप्रद सेयरमा लगानी गरेको छ ।

फागुन मसान्तसम्म २८ करोड २९ लाख घाटामा गएको स्किम चैत मसान्तसम्म ३ करोड १९ लाख नाफामा गएको छ ।

सूचिकृत कम्पनीमा यो स्किमले गरेको कुल लगानीमध्ये सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १ मा १५ लाख ६४ हजार इकाईमा रहेको छ । सबैभन्दा ठूलो लगानी चाहि एभरेष्ट बैंकको सेयरमा ६ करोड २६ लाख रुपैयाँ रहेको छ ।

बिहीबार यो फण्डको अन्तिम कारोबार मूल्य प्रति इकाई १२ रुपैयाँ ५० पैसा छ ।

यसैगरी, सात वर्षे बन्दमुखी अर्को स्किम 'एनआइबिएल प्रगति फण्ड'को नेट एसेट भ्यालु(एनएभी) समेत बढेको छ ।

फागुन मसान्तसम्म ९ रुपैयाँ ९१ पैसामा सीमित एनएभी बढेर चैत मसान्तसम्म १० रुपैयाँ ७४ पैसा पुगेको हो ।

७५ करोड रुपैयाँबाट सुरु भएको यो स्किमले चैत मसान्तसम्म ३६ सूचिकृत कम्पनीको सेयरमा २९ करोड ५० लाख, सार्वजनिक निश्कासन, हकप्रद र बोनस सेयरमा २ करोड ३३ लाख लगानी गरेको छ ।

फागुन मसान्तसम्म यो स्किम पनि ६७ लाख बढी घाटामा थियो । तर चैत मसान्तसम्म आइपुग्दा ४ करोड ७२ लाख नाफामा गएको छ ।

कुल लगानीमध्ये यो स्किमले सबैभन्दा बढी नेपाल बैंक लिमीटेडको २९ हजार १ सय २५ कित्ता खरीद गरेको छ । यो फण्डको बिहीबारको मितिमा अन्तिम कारोबार मूल्य प्रति इकाई १० रुपैयाँ २० पैसा रहेको छ ।