काठमाण्डौ । छोटो समयका लागि सेयर खरीद गरी केही फाइदा हुने बित्तिकै बिक्री गर्ने र आफ्नो लगानी सुरक्षित गर्ने बाठा लगानीकर्ताहरुको चाप बजारमा परेपछि अघिल्लो दिनसम्मको बुलिस बजारमा ब्रेक लागेको छ । 

बजारमा ब्रेक लाग्दै गर्दा धेरै लगानीकर्ताले सर्टटर्ममा राम्रो फाइदा लिएर सेयर बिक्री गर्न भ्याएका छन् भने बजार अझ बढ्ला भन्ने आशामा बढेकै मूल्यमा समेत सेयर खरीद गर्नेहरु एकपटक झस्किएका छन् । 

अघिल्लो हप्ता र यो साताको मंगलबारसम्म पनि बुलिस प्रवृतिमा कुदिरहेको बजारमा अनपेक्षित ढंगले ब्रेक लागेको हो । बजारमा ब्रेक लाग्दै गर्दा धेरै लगानीकर्ताले सर्टटर्ममा राम्रो फाइदा लिएर सेयर बिक्री गर्न भ्याएका छन् भने बजार अझ बढ्ला भन्ने आशामा बढेकै मूल्यमा समेत सेयर खरीद गर्नेहरु एकपटक झस्किएका छन् । 

बजारमा बिक्री चाप उच्च भएकै कारण २ अर्ब ५६ करोड ४७ लाख भन्दा बढीको सेयर किनबेच भएको छ । तर नेप्से परिसूचक चाहि २२.३३ अंकले घट्दै १५८८.२९ अंकमा झरेको छ । नेप्से परिसूचक दोहोरो अंकले घटे पनि कारोबार रकम चाहि निकै माथि भएकोले तत्काल अत्तालिनुुपर्ने अवस्था छैन । बुलिस टेण्ड बाउन्स ब्याक भई बजारले फेरि उछालकै मोड लिनसक्ने प्रशस्त आधारहरु छन् । 

बुधबार टेडिंग समूहबाहेक सबैमा रातो पोतिएको छ । अघिल्लो दिनसम्म उच्च वृद्धिका कारण ३ पटक सर्किट ब्रेकर लगाई निर्धारित समयअगावै बन्द गर्नुपरेको बजार भोलिपल्टै राताम्मे भएपछि कतिपय लगानीकर्ता अलमलमा परेका छन् । मौसमको भर नभएजस्तै सेयर बजारको प्रवृति समेत एकैनाशको नहुने र सधैं लगानीकर्तालाई झुक्याइरहने प्रवृति प्रदर्शन गर्ने कुरा सुनेका कतिपय नयाँ लगानीकर्ताले मंगलबार र बुधबारको फरक परिणामबाट व्यवहारिक ढंगले त्यो पाठ सिक्ने मौका समेत पाएका छन् । 

सबैभन्दा बढी जलविद्युत समूह र होटल समूहमा गिरावट आएको छ । जलविद्युत समूह ७३.९९(३.५२ प्रतिशत) र होटल समूह ६६.२७(३.१२ प्रतिशत)ले घटेको छ । यस्तै, वाणिज्य बैंक समूह २०.०५, विकास बैंक १६.९८, बित्त समूह १२.६, बिमा समूह १५२.३२, उत्पादनमूलक १.७६ र अन्य समूह १.४४ अंकले घटेका छन् । टेडिंग समूह चाहि १.६८ अंकले बढेको छ । 

‘क’ वर्गका कम्पनीको कारोबार खुम्चिएका कारण सेन्सेटिभ इण्डेक्स ४.६२ अंक र फ्लोट इण्डेक्स १.८१ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार १ सय ४९ कम्पनीको कुल ५ करोड ४ लाख ९७ हजार ५ सय कित्ता सेयर कुल २ अर्ब ५६ करोड ४७ लाख ४१ हजार २ सय ७३ रुपैयाँमा किनबेच भयो । 

नेपाल बंगलादेश(एनबी) बैंकको ३८ करोड बढीको संस्थापक सेयर किनबेच भयो । यस्तै, सोही बैंकको २० करोड ९८ लाख बढीको साधारण सेयर समेत किनबेच भयो । यस्तै, नेपाल बैंक लिमीटेडको १० करोड बढीको सेयर कारोबार भयो । एनबी बैंक र नेपाल बैंकको हकप्रदले सेयर बिक्री बढाएको हो । एनबी बैंकको ८० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएका कारण समेत यसको सेयरमा अचाक्ली आकर्षण देखियो । नेपाल बैंकको चाहि करिब २४ प्रतिशत हकप्रद निश्कासनको स्वीकृति बोर्डले बुधबार मात्र दिएको खबरले हकप्रदमा आकर्षण देखियो। 

यस्तै सानिमा बैंकको ९ करोड ६७ लाख बढीको सेयर किनबेच भयो भने कृषि विकास बैंकको ७ करोड बढीको, एनसीसी बैंकको पनि ७ करोड बढी, लक्ष्मी बैंकको ६ करोड ९८ लाख बढीको सेयर किनबेच भयो । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान वाणिज्य बैंक र एक स्थान बिमा कम्पनीको बर्चश्व रह्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
बुधबार २ कम्पनीले पैसा छापे । सिन्धुु विकास बैंकको सेयर मूल्य ९.५६ प्रतिशत बढ्यो भने कन्काई विकास बैंकको सेयर मूल्यमा समेत ९.०९ प्रतिशतको वृद्धि भयो । 

गुमाउनेमा सबैभन्दा अगाडि नेपाल बंगलादेश बैंकका संस्थापक सेयरधनी रहेका छन् । यो बैंकको संस्थापक सेयरको मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । यस्तै राष्टिय बिमा कम्पनी लिमीटेडको सेयर मूल्य पनि ८.२१ प्रतिशतले घटेको छ ।