काठमाण्डौ ।  दार्चुलाको शिखर गाविस बलाँचमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ। 
 
प्राकृतिक कारणले खुम्चिएको आयोजनाको ८४३ मिटर र खन्न बाँकी २३२ मिटरसहित सुरुङ निर्माणको सम्पूर्ण काम आज पूरा भएको ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए। 
 
यसैवर्ष परीक्षण उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको अन्य काम द्रुतगतिमा भइरहेको उनले जानकारी दिए। चमेलिया निर्माण पुरा भएपछि सुदूरपश्चिमको तराई क्षेत्रमा समेत लोडसेडिङ अन्त्य हुनेछ। 
 
आयोजनाको १३२ किलोभोल्टको १३१ किलोमिटर प्रसारण लाइन बनिसकेको छ भने ४०० भन्दा बढी टावर पनि खडा भइसकेका छन्। 
 
केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजनाको काममा ढिलासुस्ती नगर्न र निर्धारित समयमा बिजुली उत्पादन गर्न निर्देशन दिएका थिए।