काठमाण्डौ । चर्चित हेयर डिजाइनर तथा मेकअप आर्टिस्ट निलडेभिड कट्वालले लण्डनबाट सिकेको सीप स्वदेशमा कार्यान्वयनपछि पाएको सफलतामा अर्को खुड्किलो उक्लिने योजनाका साथ गार्मेन्ट उद्योग स्थापना गर्ने भएका छन् । 

डिजाइनर र मेकअप आर्टिस्टको रुपमा देश–विदेशमा ख्याति कमाएका कट्वालले कपाल, दाह्री काट्ने पेशाको बिषयमा सर्वसाधारणमा रहेको गलत मानसिकता र होच्याउने प्रवृतिलाई पूर्ण परिवर्तन गरी एक प्रतिष्ठित व्यवसायको रुपमा स्थापित गराएका श्रेय पाउने गरेका छन् । 

आफ्नो स्वामित्व र फेञ्चाइजी मोडलका गरी हाल देश र विदेश(भारत)मा कुल १५ वटा स्टूडियोमार्फत सेवा दिइरहेका कट्वालले ग्राहकका माग अनुसारको डिजाइन गरिएको फेसन वेयर बजारमा ल्याउने अन्तिम तयारी सुरु गरेका छन् । 

‘आइतबार एनडीके(निल डेभिड कट्वालको छोट्करी रुप) ब्राण्डबाट उत्पादन थाल्न लागिएको गार्मेन्ट आइटमको मिडिया लञ्च गर्दैछौ ।’ कट्वालले बिजशालासँग भने–‘गार्मेन्ट उद्योग स्थापनाको काम अन्तिम चरणमा छ । आगामी फेब्रअुरीदेखि हाम्रा डिजाइनयुक्त उत्पादन बजारमा आउनेछन् ।’

कट्वालका अनुसार राम्रा डिजाइनका स्टाइलिस गार्मेन्ट आइटम(फेसन वेयर) सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले हाल भैंसेपाटीमा उद्योग स्थापनाको काम अन्तिम चरणमा छ । सुरुवातमा ८० लाख रुपैयाँ लगानी हुने गार्मेन्ट उद्योगका उत्पादन केही महिना काठमाण्डौ केन्द्रीत मात्र गरिनेछ । ‘त्यसपछि उपभोक्ताको माग र रुचि अनुसार हामी हाम्रो उत्पादनलाई देशव्यापी बनाउनेछौ ।’ उनले थपे–‘हामी हाम्रा मौलिक उत्पादनहरुलाई अन्य देशहरुमा समेत पुर्याउने लक्ष्यमा छौ ।’ 

सुरुवातमा काठमाण्डौको सिभिल मलमा ‘एनडीके फेसन वेयर’को सोरुम संचालन गरिनेछ । त्यहाँ ५ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् भने गार्मेन्ट उद्योगमा सुरुवातमा १० जनालाई प्रत्यक्ष रोजगारी दिइनेछ ।

नील डेभिडको त्यो सपना
हेयर स्टाइलिसको कोर्स लण्डनमा पूरा गर्नुभन्दाअघि नील डेभिड कट्वालले दिल्लीस्थित एक विश्वविद्यालयमा फेसन डिजाइनिङको कोर्स पूरा गरेका थिए । उनको सपना नै भविष्यमा गएर राम्रो डिजाइनर बन्नु थियो । ‘तर मभित्र सुसुप्त भएको यो सपना अहिलेसम्म पूरा भएको थिएन, म संयोगले हेयर स्टाइलिस बन्न पुगेको हुँ ।’ उनले भने ।  

पूरा हुन नसकेको त्यही सुुसुप्त सपनालाई साकार पार्न उनले केही समयअघि भारतको सिलीगुडीमा गएर ८ महिनाको फेसन डिजाइनिङको अर्को कोर्स गरे । ‘दिल्लीको कोर्सको पुनर्ताजगी सिलीगुडीको कोर्सबाट भएपछि अब पूरा हुन नसकेको त्यही सपनालाई साकार पार्न एनडीके फेसन वेयरको रुपमा डिजाइनिङको क्षेत्रबाट उदाउन लागेको हुँ ।’ उनले भने–‘राम्रा डिजाइनका नाममा विदेशी डिजाइनमा आफ्नो ट्याग राखेर नेपाली ग्राहकलाई वेबकुफ बनाउनेहरु धेरै छन् । हामी चाहि कच्चा पदार्थ विदेशबाट ल्याए पनि सम्पूर्ण डिजाइन तथा फिनिसिङसहित परफेक्ट फेसनवेयर दिनेछौ ।’ 

उनका अनुसार दिल्ली, मुम्बई, लण्डन लगायतका क्षेत्रमा त्यहाँका सर्वसाधारणले पाउने क्वालिटी आफूले समेत नेपाली ग्राहकलाई दिने सपना सँगालेको उनले प्रष्ट्याए । ‘हामी परफेक्ट डिजाइन दिनेछौ ।’ उनले भने–‘आशा छ, हाम्रा फेसनवेयर नेपाली ग्राहकका रोजाई बन्नेछन् ।’ 

१० वर्षपछिको फड्को
१० वर्षअघि निल डेभिड कट्वालको नाम गुमनामप्राय थियो । उनी लण्डनबाट पढेर नेपाल भित्रिँदा चिन्ने कोही थिएनन् । त्यसबेला केही सहयोगी तथा शुभेच्छुकहरुको साथ पाएर उनले २० लाख रुपैयाँको सुरुवाती लगानीमा काठमाण्डौ मलमा निल डेभिडको मेकअप तथा हेयर आर्टको स्टूडियो संचालनमा ल्याए । उनको यो सुरुवात निकै सुखद भयो र १० वर्षको अवधिमा उनी नेपालका एक चर्चित हेयर डिजाइनर तथा मेकअप आर्टिस्टको रुपमा स्थापित हुने शौभाग्य प्राप्त गरे ।

यो क्षेत्रमा स्थापित भएको १० वर्षपछि उनले ‘एनडीके फेसन वेयर’ नामबाट फड्को मार्न लागेका हुन् । ‘मैले २० लाखबाट सुरु गरेको मेरो व्यवसाय अहिले ५ करोड भन्दा बढीको भइसकेको छ ।’ उनले भने–‘८० लाखबाट सुरु गर्न लागेको गार्मेन्ट प्रोडक्टले पनि यस्तै सफलता पाउँछ भन्ने विश्वास छ ।’ 

झापाको कन्काई नगरपालिका लक्ष्मीपुरका स्थायीबासी निल डेभिड नेपालमै केही गर्ने उद्देश्यले लण्डनको सुखसयल त्यागेर आएको बताउँछन् । उनले संचालन गरेको एकेडेमीबाट मात्र हालसम्म ५० हजार भन्दा बढी दक्ष जनशक्ति उत्पादन भइसकेका र तीमध्ये अधिकांशले रोजगारी पाएका कट्वाल दाबी गर्छन । ‘हाल मेरा स्टूडियोहरुमै ५ सय भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।’ कट्वालले भने–‘कपाल काट्ने पेशालाई होच्याउने प्रवृति कम भएकोछ । अहिले सबै वर्ग, जातिका मानिसले हेयर स्यालुन खोल्ने र यो पेशा अँगाल्ने क्रम नै सुरु भएको छ ।’

कपाल काट्ने पेशालाई 'हजम' भन्दै होच्याउने प्रवृतिको अन्त गरी यसलाई सम्मानित पेशा बनाउन आफूले ठूलो भूमिका खेलेको ठान्ने निल डेभिड कट्वालले बिजशालासँग भने–‘पहिला मलाई पनि हजाम भन्दै होच्याउँथे, गिराएर कुरा गर्थे, तर आज अवस्था पूरै परिवर्तन भएको छ । हामीलाई देखेर धेरै जन्मिए ।’