काठमाण्डौ । देश भित्रिने रकम भन्दा बाहिरिने रकम बढ्ने अवस्थालाई शोधानान्तर घाटा भनिन्छ । चालु आर्थिक वर्षको साउन, भदौ र असोज(तीन महिना)सम्म घाटामा रहेको देश चौथो महिना कात्तिकमा आउँदा भने नाफामा गएको छ । अर्थात, तीन महिनासम्म घाटामा रहेको शोधानान्तर चौथो महिनामा आएर बचतमा गएको छ । 

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको अर्थतन्त्रको मासिक समीक्षा रिपोर्टमा देश बचतमा रहेको उल्लेख गरिएको हो । 

‘अघिल्ला तीन महिनाहरुमा लगातार घाटामा रहेको चालु खाता २०७३ कात्तिकमा १ अर्ब ८६ करोडले बचतमा फर्केको छ ।’–केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ । 

देश शोधानान्तर बचतमा रहनुु अर्थतन्त्रका लागि राम्रो संकेत हो । यसको अर्थ हो, ३ महिनासम्म घाटामा रहेको देश कात्तिकमा भने नाफामा गएको छ । ३ महिनासम्म खर्च बढी हुने गरेकामा त्यसलाई धानेर समेत कात्तिकमा चाहि बचत गर्न समेत देश सफल भएको हो ।

यो अवधिमा विदेशी विनियम सञ्चिती पनि बढेको छ । २०७३ असार मसान्तको रु.१०३९ अर्ब २१ करोडबाट २.१ प्रतिशतले वृद्धि भई कात्तिक मसान्तसम्ममा यस्तो सञ्चिती १०६१ अर्ब २८ करोड पुुगेको छ । 

कात्तिक मसान्तसम्म नेपाल भित्रिने विप्रेषण समेत वृद्धि भएको देखिएको छ । रेमिटान्स ७.८ प्रतिशतले वृद्धि भई २३२ अर्ब १४ करोड पुुगेको हो । तर अघिल्लो वर्षको यही अवधिको वृद्धिदर भने अहिलेको भन्दा बढी थियो । सो बेला रेमिटान्स १९.४ प्रतिशतले वृद्धि भएको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आर्थिक वर्षको ४ महिनामा अघिल्लो आबको सोही अवधिको तुलनामा ७.९ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । तर हरेक महिनाको तथ्यांकमा चाहि कात्तिकमा असोजको भन्दा वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको देखिएको छ । असोजमा २४ हजार ९ सय ४९ नेपाली वैदेशिक रोजगारीमा गएकोमा कात्तिकमा त्यो बढेर ३० हजार ५ सय ८८ नेपाली वैदेशिक रोजगारीमा गएका हुन् । 

चार महिनासम्मको आयातलाई आधार मान्दा बैंकिंग क्षेत्रसँग रहेको विदेशी विनियम सञ्चिती १४.४ महिनाको वस्तुु आयात तथा १२.४ महिनाको बस्तुु तथा सेवा आयात धान्न पर्याप्त रहेको रिपोर्टमा उल्लेख छ । विदेशी विनिमयको सञ्चितीको यो अवस्था नेपाल जस्तो देशका लागि उत्साहप्रद नै हो । 

बजेट खर्च भएन
चार महिनासम्ममा नगद प्रवाहमा आधारित नेपाल सरकारको बजेट ५३ अर्ब २९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत ३५ अर्ब १० करोडको रहेको थियो । 

सरकारको चालु तथा पूँजीगत खर्च बढे पनि विभिन्न शीर्षकमा भएको खर्च भने वार्षिक अनुमानको तुलनामा न्यून रहेको भन्दै राष्टबैंकले चिन्ता व्यक्त गरेको छ । स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यूून भएकोले २०७३ कात्तिक मसान्तमा नेपाल सरकारको नेपाल राष्टबैंकमा १९५ अर्ब ९६ करोड नगद मौज्दात रहेको देखिएको छ। 

चीनतर्फको निर्यात दर बढ्यो
चालु आर्थिक वर्षको चार महिनाको अवधिमा कुल वस्तु निर्यात १७ प्रतिशतले वृद्धि भएको देखिएको छ । यो अवधिमा भारततर्फ २३.२, चीनतर्फ ३६.६ र अन्य मुलुकतर्फको निर्यातमा ९ प्रतिशतको वृद्धि देखिएको छ । तर यही अवधिमा कुल वस्तु आयात ८७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६.८ प्रतिशतमा सीमित थियो । आयातमा भएको बढोत्तरी र निर्यातमा हुननसकेको अपेक्षित वृद्धिकै कारण कात्तिकसम्ममा कुल वस्तुु व्यापार घाटा ९७.९ प्रतिशतले बढी २७७ अर्ब १३ करोड पुुगेको देखिएकोछ । यो तथ्यांकले देश आयातमुुखी अर्थव्यस्थामा अझ फस्दै गएको र यसले परनिर्भरतालाई अझ बढाइरहेको प्रतित हुुन्छ ।