काठमाण्डौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सातदिने औपचारिक चीन भ्रमणका क्रममा दुई महत्वपूर्ण कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीले १२ चैतमा हाइनान प्रान्तस्थित बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री प्रचण्डले १४ चैतमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग दुईपक्षीय औपचारिक वार्ता गर्नेछन् । आकस्मिक रूपमा भ्रमण तय भएका कारण राष्ट्रपति सीसँग १५ मिनेट मात्रै औपचारिक कार्यक्रम तय भएको चिनियाँ दूतावासले प्रधानमन्त्रीलाई जानकारी दिएको छ ।

प्रधानमन्त्रीको भ्रमण–तालिका :
-१० चैत हाइनानका लागि ग्वानजाओ प्रस्थान
-११ चैत आराम
-१२ चैतमा बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन
-१३ चैतमा बेइजिङ प्रस्थान
-१४ चैतमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग ग्रेट हल अफ द पिपुलमा भेटवार्ता
-१५ चैतमा तिब्बतको ल्हासा आउने र त्यहीँ बस्ने
-१६ चैतमा स्वदेश फिर्ता

‘पूर्वनिर्धारितभन्दा पनि आकस्मिक रूपमा प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तय भएको हो, चिनियाँ राष्ट्रपतिले अन्य कार्यक्रमको समय कटाएर हाम्रा प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुभएको जानकारी आएको छ,’ प्रधानमन्त्री कार्यालय स्र्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘चिनियाँ राष्ट्रपतिले पूर्वनिर्धारित कार्यक्रम सच्याएर प्रधानमन्त्रीसँग भेटको समय तय गर्नुलाई चीनले हामीलाई दिएको महत्व मान्नुपर्छ ।’

स्रोतका अनुसार १५ मिनेटको समयमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री प्रचण्डले आधा दर्जन एजेन्डामा छलफल गर्ने तय भएको छ । प्रधानमन्त्रीका समकक्षी ली खछियाङ र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतका समकक्षी वाङ यी चीनबाहिर हुने भएकाले सम्झौताहरूमा हस्ताक्षर हुने कार्यक्रम छैन ।

‘कुनै सम्झौतामा हस्ताक्षर हुनेछैन, तर हामी केही महत्वपूर्ण विषयमा समझदारी निर्माण गरेर फर्किने तयारी भइरहेको छ,’ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मंगलबार साँझ नयाँ पत्रिकासँग भने । महतका अनुसार चीनले प्रस्ताव गरेको वान बेल्ट वान रोड (ओबिओआर)मा नेपाल सहभागी हुने विषय, पारवहन तथा यातायातसम्बन्धी गत वर्ष भएको सम्झौताका आधारमा तयार गरिएको प्रोटोकल, विद्युत् प्रसारणलाइन तथा ग्रिडलगायत सीमासम्बन्धी विषयमा छलफल हुनेछ । लगानी, सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि, रेलवे, पूर्वाधारलगायतका विषयमा पनि छलफल हुने कार्यक्रम रहेको उनले जानकारी दिए ।

स्रोतका अनुसार चीनले पठाएको ओबिओआरसम्बन्धी प्रस्ताव संशोधनसहित नेपालले आफ्नो प्रस्ताव राष्ट्रपति सीसँगको दुईपक्षीय वार्तामा प्रस्तुत गर्नेछ । पारवहन यातायात सम्झौताको आउटलाइनमा सहमति भइसकेको र नेपालले मस्यौदा प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई पठाइसकेको छ । यसबारे पनि भेटमा छलफल हुनेछ ।

चीनले २३ असारमा चीन–नेपाल स्वतन्त्र व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययन गर्न प्रस्ताव पठाएकोमा यसबारे नेपालले औपचारिक धारणा राख्ने तयारी गरेको छ । पारवहनबाहेक दुई देशबीच सीमालगायतका विषयमा पनि छलफल गर्ने तयारी नेपालको छ । परराष्ट्र मन्त्रालयले यसबारे सीमाविद्, नापी विभागका उच्च अधिकारी, सर्भेयरसँग छलफल गरिसकेको छ ।

‘अहिले विभिन्न विषयमा समझदारी विकास हुनेछन्, पछि हाम्रो प्रधानमन्त्री वा परराष्ट्रमन्त्रीको चीन भ्रमणका वेला पनि हस्ताक्षर हुन सक्छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘चीनबाट राष्ट्रपति वा प्रधानमन्त्रीको नेपाल भ्रमण हुँदा पनि सहमति कायम भएका विषयमा हस्ताक्षर हुन सक्छ ।’ प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रन्त्री डा. प्रकाशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना रहनेछन् ।

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति सीसँग एक घन्टा भेटवार्ता गरेका थिए । गत वर्ष चैत ७ देखि १४ सम्मको औपचारिक भ्रमणका क्रममा ओलीले ८ चैतमा समकक्षी ली खछियाङसँग डेढ घन्टा औपचारिक वार्ता गरेका थिए ।

भ्रमण स्थगित गर्न देउवाको सुझाब
सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले चीन भ्रमण छोट्याउन वा स्थगित गर्न प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ आग्रह गरेका छन् । आइजिपी नियुक्तिसम्बन्धी सर्वोच्चको फैसला, निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण, कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने विवादलगायतका कारण भ्रमण स्थगित गर्न साँझ टेलिफोनमा देउवाले आग्रह गरेको स्रोतले बताएको छ ।

देउवाले एक उपप्रधानमन्त्रीलाई प्रधानमन्त्रीको प्रतिनिधित्व गर्ने गरी बोआओ मञ्चको सम्मेलन र बेइजिङ पठाउन आग्रह गरेकोसमेत उनीनिकट स्रोतले बताएको छ । ‘पछिल्लो घटनाक्रमबारे निकटस्थहरूसँग छलफल गर्ने क्रममा मंगलबार साँझ सभापतिले प्रधानमन्त्रीज्यूलाई फोन गरेर आग्रह गर्नुभएको हो,’ देउवानिकट स्रोतले भन्यो । तर, यसबारे प्रधानमन्त्री र देउवाको सचिवालयले आधिकारिक जानकारी दिएका छैनन् । परराष्ट्र स्रोतले भने प्रधानमन्त्रीको भ्रमणको तयारी भइरहेको र यसबाहेक अन्य विषयमा जानकारी नआएको जनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।