काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति सीले स्थानीय तहको निर्वाचनमार्फत नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धि आउने बताएका छन् ।

भेटवार्तालगत्तै चिनियाँ टेलिभिजन सिजिटिएनलाई अन्तर्वार्ता दिएका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीले नेपालसँग रेल र सडक सम्पर्क विस्तारमा व्यक्तिगत तहबाट पनि चासो लिएको बताएका छन् । पत्रकार हान पेङलाई दिएको अन्तर्वार्तामा प्रचण्डले भने, ‘राष्ट्रपतिसँग मेरो मुख्य रूपमा कनेक्टिभिटीका विषयमा कुराकानी भयो । रेल, सडक, हिमालयपार सम्पर्क विस्तार, हवाई सम्पर्क विस्तारमा छलफल भयो । राष्ट्रपतिले रेल र सडक विस्तारमा उत्साहजनक रेस्पोन्स गर्नुभएको छ ।’ 

प्रचण्डले टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति सीले व्यक्तिगत रूपमा पनि नेपालसँग रोड र रेल सम्पर्क विस्तारमा रुचि राखेको बताएका छन् । प्रचण्डका अनुसार राष्ट्रपति सीले भने, ‘व्यक्तिगत रूपमा नै मैले नेपालसँग रेल र रोड विस्तारमा रुचि राखेको छु । सीमापार विशेष आर्थिक क्षेत्र र सीमापार विद्युत् प्रसारण लाइनमार्फत पनि दुई देशबीच आर्थिक साझेदारी वृद्धि हुन्छ भन्ने मलाई लाग्छ ।’

राष्ट्रपति सीको अवधारणाले नेपालको विकासमा क्रान्तिकारी प्रभाव पर्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘मेरो पनि विश्वास र विश्लेषण यही हो कि यो अवधारणाले नेपालको अर्थतन्त्रको विकास र चीन–नेपाल सम्बन्ध थप सुदृढ गर्न क्रान्तिकारी प्रभाव पार्नेछ,’ प्रचण्डले भने । राष्ट्रपति सीको वान बेल्ट वान रोड प्रस्तावमा आफूले नेपालका तर्फबाट औपचारिक स्वागत गरेको पनि प्रचण्डको भनाइ थियो ।

प्रचण्डले केरुङसम्म आउने रेल काठमाडौं हुँदै लुम्बिनीसम्म जोड्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए । अघिल्लो सरकारका पालामा भएका सबै सम्झौता कार्यान्वयनमा नेपालको प्रतिबद्धता दोहो¥याउँदै प्रचण्डले पारवहन तथा यातायात सम्झौताको प्रोटोकल, ओबिओआरमा नेपालको प्रवेशलगायतका विषयमा नेपाल चीनसँग हस्ताक्षर गर्न तयार रहेको बताएका थिए । ग्रेट हल अफ द पिपुलमा सोमबार अपराह्न भएको प्रचण्ड र सीको भेटमा चीनले नेपालको स्थानीय निर्वाचनका लागि ९० लाख युयान (१३ करोड ५० लाख नेपाली रुपैयाँ) दिने घोषणासमेत गरेको छ।

नेपाल भ्रमणमा आउँछु : सी : प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई निमन्त्रणाको स्मरण गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको र कूटनीतिक च्यानलमार्फत समय तय गरिने जवाफ दिएका थिए ।

त्रिदेशीय साझेदारीमा जोड : प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक अवस्थितिले विगतमा समस्या रहे पनि अब चीन र भारतजस्ता विशाल छिमेकीका कारण अवसर रहेको बताए । उनले एसियाका भीमकाय देश भारत र चीनको बीचमा नेपालले पुलको काम गर्ने पनि बताएका थिए ।

‘हामी चीन र भारतको बीचमा छौँ, दुवै तीव्र आर्थिक गतिका अर्थतन्त्र छन्, त्यहाँ विशाल बजार छ,’ भेटमा प्रधानमन्त्रीको भनाइ थियो, ‘एसियाका दुई भीमकाय देशहरूबीचको हाम्रो भूराजनीतिक अवस्थिति पहिला समस्या थियो, अहिले सम्भावनामा परिणत भएको छ । त्रिदेशीय साझेदारीमार्फत नेपाल, भारत र चीनबीचको पुल बन्न सक्छ ।’

‘छलफल सोचेभन्दा उपलब्धिमूलक’ : प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँगको भेट महत्वपूर्ण र उपलब्धिमूलक रहेको बताएका छन् । यसखालको उच्चस्तरीय छलफलले नेपाल–चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको पनि उनको प्रतिक्रिया छ ।

‘प्रधानमन्त्रीले आफूले उठाएका सबै विषयमा राष्ट्रपतिबाट सकारात्मक जवाफ आएको बताउँदै छलफल सोचेभन्दा पनि माथि रहेको बताउनुभयो,’ उनको निजी सचिवालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । नेपालले उठाएका सबै विषयको सकारात्मक सम्बोधन भएको पनि सचिवालयले जनाएको छ । राष्ट्रपति आफैँले नेपालको राजनीतिक स्थायित्व, विकास, समृद्धिसहित पूर्वाधार विकास, रेल्वे र तातोपानी नाका खोल्नेजस्ता विषय चासोका साथ प्रस्तुत गर्नुले छलफल राष्ट्रका लागि धेरै महत्वपूर्ण रहेको प्रधानमन्त्रीको प्रतिक्रिया छ ।

तातोपानी नाका खोल्न चीन सकारात्मक : राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले भूकम्पपछि बन्द भएको तातोपानी नाका सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति सीले यसबारे छलफल गर्दै टुंगोमा पुग्न सकिने बताएका थिए । प्रचण्डले एक चीन–नीतिमा प्रतिबद्धता जनाएका थिए भने राष्ट्रपति सीले नेपालको अखण्डता र स्वतन्त्रतामा पूर्ण सम्मान व्यक्त गरेका थिए ।

भेटवार्तामा प्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपालका लागि चिनियाँ राजदूत यु होङ, परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखा प्रमुख गणेश ढकाललगायत उच्च अधिकारी सहभागी थिए । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।