काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ ३.२८ प्रतिशतले गिरावट आएको हो । 

यो कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ७८ लाख खुद नाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७० लाख मात्र भएको हो । 

यो कम्पनीले विद्युत बिक्री गरी ३६ करोड ३१ लाख आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा भने ३६ करोड ६२ लाख मात्र आम्दानी भएको थियो । 

यो जलविद्युत कम्पनीको ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ लख ६ हजार रुपैयाँ रहेको ब्याज आम्दानी घटेर २३ लाख ७१ हजारमा झरेको हो । 

चिलिमेको सञ्चित कोष पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ८३ करोड रहेको सञ्चित कोष यो वर्षको पहिलो त्रैमासमा ४ अर्ब ६३ करोडमा झरेको छ । यसको चुक्तापुँजी ३ अर्ब १३ करोड रहेको छ । 

यो कम्पनीको प्रतिसेयर आम्दानी ३९.२४ रुपैयाँ, प्रति सेयर नेटवर्थ २४८ रुपैयाँ र मुल्य आम्दानी अनुपात ३१.८७ गुणा कायम भएको छ । 

यसैबीच, सानिमा माई हाइड्रो कम्पनीले भने खुद नाफातर्फ चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ९ करोड ७९ लाख घाटा व्यहोेरेको यो कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १७ करोड ३ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । 

सानिमा हाइड्रोले विगतमा बैंकको ब्याजदर, ओभरहेडको लागत वृद्धि लगायतका कारण ठूलो रकम घाटा व्यहोरिरहेको थियो ।

यो कम्पनीले विद्युत बिक्री गरेर यो वर्षको पहिलो त्रैमासमा ३० करोड ३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो कम्पनीले विद्युत बिक्री गरी ५ करोड १८ लाख मात्र आम्दानी गरेको थियो।

सानिमा माई हाइड्रोको चुक्तापुँजी  १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । 

यो कम्पनीको प्रतिसेयर आम्दानी  १६.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १.७३ गुणा कायम भएको छ ।