काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना तमाम सेयरधनीको अपेक्षामाथि तातोपानी खन्याउँदै गत वर्षभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

अघिल्लो वर्ष यो जलविद्युत कम्पनीले १५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनाअनुसार कम्पनीको मंसिर ३० गते बसेको ३२७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२ ७३ को नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय कार्यान्वयनमा आउन सम्बद्ध निकाय र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्छ ।

चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३० करोड ७३ लाख खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूूँजी ३ अर्ब १३ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि चुुक्तापूँजी ३ अर्ब ४४ करोड रुपैयाँ पुुग्नेछ ।