काठमाण्डौ । चुनाव चिह्नको माग गर्दै आन्दोलनरत नयाँ शक्ति नेपालसहितका ६८ दलले सातदिने अनशन अन्त्य गरेका छन् । रत्नपार्कको शान्तिबाटिकामा अनशनको समापन गर्दै उनीहरूले आफूहरूको एकसूत्रीय माग सम्बोधन नभए आगामी सोमबारबाट नेपाल बन्दसहितको कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । स्थानीय तह निर्वाचन ऐनमा संसद्बाहिर रहेका दलहरूलाई चुनाव चिह्न नदिने व्यवस्था गरिएकोप्रति आपत्ति जनाउँदै उनीहरूले २ वैशाखदेखि अनशन सुरु गरेका थिए । अनशन अन्त्य गर्ने कार्यक्रममा ६८ दलका अध्यक्ष एवं प्रतिनिधिले चुनाव चिह्न नपाए ३१ वैशाखमा स्थानीय तहको निर्वाचन बिथोल्ने चेतावनी दिएका छन् । 

नयाँ शक्ति नेपालका नेता पर्शुराम तामाङले आफूहरूको माग आइतबारसम्म पूरा नभए नेपाल बन्द र आमरण अनशनसहितको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए । ‘सरकार, संसद् र निर्वाचन आयोगले आफूहरूको माग बेवास्ता गरेकाले अब व्यवस्थापिका संसद् र प्रधानमन्त्री निवास बालुवाटार घेराउसहितको सशक्त आन्दोलन घोषणा गर्छौं,’ उनले भने ।

नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले बहुदलीय व्यवस्थालाई लत्याउँदै सरकारले तानाशाही चरित्र देखाएको आरोप लगाए । ‘४० वर्ष सँगै परिवर्तनमा साथी बनेका प्रचण्ड तानाशाही बन्न खोजेका छन्, नक्कली लोकतन्त्रविरुद्धको लडाइँलाई अझ सशक्त बनाउन जरुरी छ,’ उनले भने । यसअघि उनीहरूले चुनाव चिह्नको माग गर्दै देशभरका निर्वाचन कार्यालय घेराउ गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।