काठमाण्डौ । आर्थिक र सैन्य क्षमतामा विश्वशक्ति अमेरिकालाई समेत तर्साउने हैसियत राख्ने चीनले आफ्नो विश्व धरोहर बचाउनका लागि भने  मानिसहरुसँथ चन्दा माग्न थालेको छ । 

यूनेस्कोद्वारा सन् १९८७ मा विश्व धरोहर घोषित चीनको विशाल पर्खाल(ग्रेट वाल) अब ध्वस्त हुने खतरामा छ । यो पर्खाल जुनसुकै बेला भत्कने खतरा रहेकाले यसलाई बचाउन समेत निकै ठूलो बजेट आवश्यक पर्छ । 

यो पर्खाललाई बचाउनका लागि सरकारको फण्डिङ समेत कम भएको छ । यही विशाल पर्खाललाई बचाउन सरकारले आफ्ना नागरिकसँग चन्दा मागिरहेको छ र यो सम्बन्धी विशेष अभियानको अनलाइन क्याम्पेन नै चलाइएको छ । 

चीनमा अवस्थित सेमी अफिसियल अर्गनाइजेसन कल्चर हेरिजेट कञ्जरवेशनले अनलाइन क्राउड फण्डिङ अभियान लञ्च गरेको हो । यो अभियानबाट १६ लाख डलर अर्थात करिब १७ सय करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म ३.८५ लाख यूआन जुटिसकेको बताइएको छ । हालसम्म २६ हजार भन्दा बढी मानिसले विशाल पर्खाल बचाउनका लागि सरकारी एजेन्सीलाई चन्दा दिइसकेका छन् । 

चीनको विशाल पर्खाल(ग्रेट वाल)को संरक्षणमा जुटेको एक एनजीओ ग्रेट वाल अफ चाइना सोसाइटीको भनाईमा केन्द्र सरकारको सहयोगको बाबजुद विशाल पर्खालको एक ठूलो हिस्सा खतरामा रहेको छ र यो हिस्सा गुमनाम भएर पूर्ण नष्ट हुने संभावना पनि उत्तिकै छ । यही कारण पर्खाललाई पूरा रुपले सुरक्षित बनाइराख्ने उद्देश्यले अधिकभन्दा अधिक फण्ड जुटाउनुपर्ने भएकोले क्राउड फण्डिङको साहारा लिइएको हो । 

तर, फण्ड भनेजस्तो नजुटेको गुनासो
चीनको यो विशाल पर्खाल ९ वटा राज्य हुँदै बनेको छ(ठडिएको छ) । यीमध्ये अधिकांश राज्य सरकारसँग पर्खालको नष्ट भइरहेको हिस्सालाई बचाउनका लागि पैसा छैन । क्राउड फण्डिङको माध्यमबाट संकलन भइरहेको रकमको प्रयोग गरी हेबेई प्रान्तको शिफेंगकोउ हिस्सामा अवस्थित पर्खालको ५ सय वर्ष पुरानो ४६० मिटर लामो हिस्सालाई दुरुस्त बनाइनेछ । ग्रेट वाल अफ चाइना सोसाइटीका अनुसार यो किसिमको अभियानबाट विशाल पर्खाललाई बचाउन जनमानसमा जनचेतनाको समेत राम्रो संचार हुनेछ । 

८.२ भाग मात्र राम्रो अवस्थामा !
चीनको पर्खाल निर्माणका लागि प्रयोग गरिएका पुराना र पुरातात्विक महत्वका इँटा चोरी हुने गरेको खबर बेला बेला आइरहन्छ । यस्ता पुरातात्विक महत्वका इँटाको प्रयोग पर्खाल आसपासको क्षेत्रमा सर्वसाधारणले घर बनाउन तथा कृषि कर्ममा केही संरचना बनाउन प्रयोग गर्ने गरेका छन् । कतिपय ठाउँमा ग्रेटवाल घुम्न जाने पर्यटकलाई समेत इँटा बिक्री गर्ने गरिन्छ । २०१४ को एक सर्वेक्षणका अनुसार चीनको विशाल पर्खालको केवल ८.२ प्रतिशत भाग मात्र राम्रो अवस्थामा छ । सन् २००५ मा चीनको केन्द्र सरकारले २८.५ करोड डलर पर्खालको अलग अलग हिस्साको दीर्घकालीन मर्मत योजनाका लागि संचालित परियोजनालाई उपलब्ध गराएको थियो । 

२०६ इशापूर्वमा भएको थियो पर्खाल निर्माण
चीनको यो विशाल पर्खाल माटो र पत्थर(ढुंगा)ले बनेको एक अद्भूत संरचना हो । चीनका विभिन्न शासकहरुले उत्तरतर्फबाट हुने हमलाबाट बच्नका लागि पाँचौ शताब्दी इशापूर्वदेखि लिएर सोह्रौं इसवीसम्म बनाएका थिए । 
चीनका पहिलो शासक क्वीन शी हांगले २२० बाट २०६ इसा पूर्वसम्मको अवधिमा यो पर्खाललाई निर्माण गराएका थिए । यसपछि अलग अलग समयमा यो पर्खाल थप्दै लगियो र मर्मत सम्भारको काम पनि हुँदै आयो । हालको निकै ठूलो पर्खालको सबैभन्दा ठूलो हिस्सा मिंग वंश(सन् १३६८ देखि १६४४)को शासन अवधिमा बनाइएको हो । चीनको यो विशाल पर्खाल पूर्वमा शानहाइगुआनदेखि पश्चिममा लोपनुरसम्म फैलिएको छ । यसको कुल लम्बाई करिब ६ हजार ७ सय किलोमिटर रहेको छ । पुरातत्व विभागको हालको सर्वेक्षण अनुसार समग्र महान पर्खाल, आफ्ना सबै शाखासहित कुल ८ हजार ८ सय ५१ दशमलव ८ किलोमिटर लामो रहेको छ । 

के हो क्राउड फण्डिङ ?


इन्टरनेटको माध्यमबाट बढी भन्दा बढी मानिसबाट सानो सानो रकम कुनै पनि प्रोजेक्टका लागि जुटाउनका लागि थालिएको अभियानलाई आम रुपमा क्राउड फण्डिङ भन्ने गरिन्छ । यो बेला विश्वभरका संघसंस्था तथा अभियन्ता दुई खालका क्राउड फण्डिङमा काम गरिरहेका छन् । एक  डोनेशन बेस्ड फण्डिङ र अर्को चाहि इन्भेष्टमेन्ट क्राउड फण्डिङ । 

डोनेशन बेस्ड फण्डिङमा मानिसहरु राम्रो प्रोडक्टको सेवाका लागि पैसा दान गर्छन, ताकि पछि उनीहरुलाई त्यस्तो प्रोडक्ट सहजै प्राप्त हुन सकोस् । 

इन्भेष्टमेन्ट क्राउड फण्डिङ चाहि सबैभन्दा धेरै प्रचलनमा रहेको छ । यो प्रकारको मोडेलमा पैसा दिने व्यक्तिले सो कम्पनी वा प्रोडक्टमा आफ्नो हिस्सेदारी लिन्छ र पछि सो प्रोडक्ट वा कम्पनीबाट हुने लाभमा समेत उसको हिस्सेदारी सुरक्षित हुन्छ ।