काठमाण्डौ । ऋण उठाउन कर्जा प्रवाह गर्ने निकायले अनेक–अनेक उपाय अपनाइरहेका हुन्छन् । नेपालमा जग्गा, सुनचाँदी, व्यवसायिक फर्म, शेयर धितो राखेर ऋण दिने चलन छ । तर चीनमा मानिसलाई दुनियाँसामु नङ्ग्याउने धम्की दिएर ऋण असूल्ने अनौठो तरिकाले निकै चर्चा पाएको छ । 

चीनको सरकारी मिडिया ‘चाइना डेली’ले जनाएअनुसार देशमा छ्यासछ्यास्ती खुलेका गैरकानूनी बैंकहरुले ऋणिहरुबाट ऋण उठाउने हतियारको रुपमा ऋणिको नाङ्गो तस्विर धितोको रुपमा राख्ने क्रम बढेर गएको हो । 

यी बैंकहरु ऋण लिनेहरुका आफन्तको बिषयमा विस्तृत जानकारीसँगै ऋणिको नाङ्गो तस्विर खिचेर समेत राख्ने गर्छन र तिनै नांगो तस्विरलाई धितोको रुपमा प्रयोग गर्छन । 

‘चाइना डेली’का अनुसार ऋण लिन इच्छुक व्यक्तिले देशको राष्ट्रिय परिचयपत्रको साथमा नाङ्गो फोटो खिचाउनुपर्ने हुन्छ । यी बैंकहरु सहज ढंगले ऋणिबाट ऋण नउठे धितोको रुपमा राखिएका नाङ्गा तस्विरहरु सार्वजनिक गरिदिने धम्की दिन्छन् र ऋण उठाउँछन । 

यस्तो धम्कीबाट ऋणि अत्तालिने, फोटो साच्चिकै सार्वजनिक भए आफ्नो वेइज्जती हुने ठानेर ऋण तिर्न आउने बैंकहरुको बुझाई छ । यी बैंकहरु कानूनी बैंकको तुलनामा ऋणिबाट निकै ठूलो दरमा ब्याज असूल्ने गर्छ । 

समाचारमा उल्लेख भए अनुसार चिनका सरकारी बैंकहरु त्यहाँका गरीबहरुलाई सहज ढंगले ऋण दिंदैनन् । यसैको परिणाम चीनमा नांगो तस्विर धितो राख्ने गैरकानूनी बैंकहरुको धन्दा फस्टाएको छ । 
बिजशाला / एजेन्सी