►महेश आचार्य

बीबीसी नेपाली

विश्वभर चीनको प्रभाव विस्तार हुंदै गर्दा विभिन्न देशका भाषाहरु सिक्ने लहर चिनियां युवाहरुमाझ अहिले लोकप्रिय देखिन्छ।

त्यसमा पनि नेपाली भाषालाई प्राथमिकतासाथ विश्वविद्यालयमा नै पढाउने गरिएको छ।

चिनियां राजधानी बेइजिंगस्थित कम्युनिकेशन युनिभर्सिटी अफ चाइनामा नेपाली भाषामा चार वर्षे स्नातक गर्न सकिन्छ।

त्यहां नेपाली भाषाको पढाइ सन् १९६३ बाटै सुरु भएको उक्त विश्वविद्यालयले जनाएको छ।

बीचबीचमा छोटो समय रोकिएपनि नेपाली भाषाको अध्ययन,अध्यापनले आधा शताब्दीभन्दा बढी समय पार गरिसकेको छ।

अहिले पनि करिब डेढ दर्जन विद्यार्थीले उक्त विश्वविद्यालयको स्कुल अफ इन्टरन्याशनल स्टडिजमा नेपाली भाषा पढिरहेका छन्।

 

चिनियां विद्यार्थी

हिले करिब डेढ दर्जन चिनियां विद्यार्थी युनिभर्सिटी अफ चाइनाको स्कुल अफ इन्टरन्याशनल स्टडिजमा नेपाली भाषा पढिरहेका छन्।

झुकाव

नेपाल र नेपालीभाषाप्रतिको झुकाव झल्काउन भन्दै चिनियां विद्यार्थीदेखि लिएर शिक्षिकासम्मले नेपाली नाम राखेका छन्।

शिक्षिका इन्दिराका अनुसार त्रिभुवन विश्वविद्यालय र कम्युनिकेशन युनिभर्सिटीबीच भाषासम्बन्धी अध्ययनबारे समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।

  • सन् १९६३ यता नेपाली भाषाको पढाइ
  • डेढ दर्जन विद्यार्थी नेपाली भाषा सिक्दै
  • चार वर्षे स्नातक तहका रुपमा नेपाली भाषाको अध्ययन
  • दोस्रो वा तेस्रो वर्ष नेपालमै पुगेर थप अध्ययन

साथै सोही विश्वविद्यालयकै स्कुल अफ इन्टरन्याशनल स्टडिज र नेपालको विश्वभाषा क्याम्पसबीच विद्यार्थी आदानप्रदानसम्बन्धी सम्झौता छ।

तिनै सम्झौता र समझदारी अन्तर्गत नेपाली भाषा पढिरहेका चिनियां विद्यार्थीलाई दोस्रो वा तेस्रो वर्षमा नेपालमै पुगेर थप अध्ययन गर्ने मौका मिलाइएको छ।

धेरै विद्यार्थीलाई छिमेकी नेपालको निकटता र सांस्कृतिक पाटोले नेपाली भाषाप्रति आकर्षित गरेको देखियो।

 

चिनियां विद्यार्थी

त्यस्तैमध्येकी एक जना विद्यार्थी हिमलता भन्छिन्, "म सानो छँदा नेपालबारे एउटा भिडियो हेरेको थिए। त्यसमा नेपालको हिमाल, पहाड देखेको थिए र त्यस्तो सन्दर दृश्य मैले पहिले कहिल्यै देखेको थिइन"।

अर्का विद्यार्थी अम्बर चाहिँ नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध विस्तारका लागि सहयोगी पुग्ने काममा लाग्ने आफ्नो योजना सुनाउंछन्।

 

चिनियां विद्यार्थी

विद्यार्थीको नाम अम्बर हो। उनलाई नेपाल-चीनबीच सम्बन्ध सुमधुर बनाउने काम गर्ने रहर रहेछ।

तात्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा पुगेका बेला उनलाई भेटेको प्रसंग सुनाउंदै उनले भने, "नेपालको प्रधानमन्त्री जस्तो मान्छेसंग भेट्न पाउनु मेरो भाग्य हो। म भविष्यमा दुई देशको सम्बन्ध सुमधुर बनाउने काममा लाग्छु"।

अर्की विद्यार्थी ग्रीष्माले त चिनियां विदेश मन्त्रालयमा जागिर पाइसकेकी छन्।

नेपाल चीनसम्बन्धबारे गहिरो जानकारी राख्ने उनी भन्छिन्, "चीनको कूटनीतिमा संलग्न भएर नेपाल र चीनबीचको सम्बन्ध अझ सुदृढ बनाउने इच्छा छ"।

त्यसो भए कुनै दिन नेपालस्थित चिनियां दूतावासमा कूटनीतिज्ञ भएर तपाईं आएको हेर्न पाइन्छ त भन्ने प्रश्नको जवाफमा उनले मुस्काएर जवाफ दिइन्, "मलाई नेपालमा काम गर्ने ठूलो इच्छा छ"।

 

चिनियां विद्यार्थी

यिनको नाम ग्रीष्मा हो। चिनियां विदेशमन्त्रालयमा जागिर खान थालिसकेकी उनी भविष्यमा नेपालमा आएर काम गर्न इच्छुक छिन्।

समस्या

शिक्षिका इन्दिराले नेपालबारे चाख राख्ने यस्ता विद्यार्थीहरु पढाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ। तर नेपाली भाषा अभ्यास गर्ने अवसर निकै कम भएको भन्दै उनी चिन्तित देखिइन्।

उनले भनिन्, "नेपालबाट चीन आउने नेपालीहरुसंग निरन्तर अन्तक्रिया गराउने व्यवस्था मिलाउन सकियो भने विद्यार्थीहरुलाई बोलीचालीको भाषा अभ्यास गर्न सजिलो हुन्थ्यो तर त्यो अवसर निकै कम छ"।

तर पनि बेलाबेला चीन भ्रमणमा गएका नेपाली सरकारी टोलीसंग भेटघाट गराउने चांजोपांजो शिक्षिका इन्दिराले मिलाउने गरेकी रहिछन्।

 

चिनियां विद्यार्थी

शिक्षिका इन्दिराले नेपाली भाषाको चार वर्षे स्नातक तह पढाउन थालेको एक दशकभन्दा बढी भइसकेको छ।

कम्युनिकेशन युनिभर्सिटी अफ चाइनामा विभिन्न विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले पनि नेपाली भाषाको कक्षा लिनेदेखि लिएर नेपालीहरुसंग अन्तर्क्रिया गराउन र नेपालमा सम्पर्क विस्तार गर्न सहयोग गरिरहेको पाइयो।

त्यस्तैमध्येका एक, हाल उक्त विश्वविद्यालयमा सञ्चारअध्ययनमा विद्यावारिधि गरिरहेका नेपाली विद्यार्थी विनोद पौडेलले भने, "हामीले चिनियां विद्यार्थीहरुले नेपाली भाषाका पत्रपत्रिकाहरु पढून् भन्ने उद्देश्यले नेपालका सञ्चारगृहसंग कुरा गरेका छौं।"

उनले थपे, "खासगरी सरकारी मुखपत्र गोरखापत्र नेपाली भाषा पढिरहेका चिनियां विद्यार्थीमाझ पुर्याउने प्रयासमा हामीले लागिरहेका छौं"।