काठमाण्डौ ।  निर्वाचन आयोगले स्थानीय तहको व्यवस्थाअनुसार मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता नामावलीमा रहेका करिब एक करोड ४० लाख मतदाताले नयाँ व्यवस्थाअनुसारको मतदाता परिचयपत्र प्राप्त गर्नेछन् ।

मतदाता परिचयपत्र छपाइका लागि तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ । आयोग स्रोतका अनुसार केही दिनभित्रै परिचयपत्र छपाइ थालिनेछ । तर, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामावली टुंगो लागेपछि मतपत्र छपाइको काम सुरु हुनेछ ।

आयोगले ०७० को निर्वाचनमा परिचयपत्र सामान्य प्रकृतिको बनाएको थियो । सामान्य छापाखानामा छपाएर वितरण गरिएको थियो । तर, अहिले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर आधुनिक प्रकृतिको छपाइ गर्न लागिएको छ ।

मतदातापत्र छपाइमा १४ करोड : स्थानीय तहअनुसार नयाँ मतदाता परिचयपत्र छपाइ गर्न करिब १४ करोड रुपैयाँ लाग्नेछ । अहिले करिब एक करोड ४० लाख मतदाता छन् । सुरक्षा चिह्नसहितको मतपत्र भएकाले प्रतिगोटा छपाइमा १० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । परिचयपत्रमा फोटो, क्युआरकोड, माइक्रोटेक्स्ट, ट्यान्टोग्राफ, वाटरमार्क, भ्वाइड पेन्टोग्राफ र सिल लेमिनेसन हुनेछ । ०७० को संविधानसभामा फोटोसहित सामान्य कागजमा परिचयपत्र छपाइ भएको थियो ।

भारतबाट गाडी धेरै ल्याइने : निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सामग्रीमध्ये सवारीसाधन भने भारतबाट मात्रै ल्याउने भएको छ । भारतबाट माग गरिएका सवारीसाधनमा डबल क्याब पिकअप गाडी सबैभन्दा बढी ४५ वटा ल्याउने तयारी गरिएको छ । स्कोरपियो गाडी सातवटा ल्याउने तयारी भएको छ । पहाडी क्षेत्रमा प्रयोग गर्न ३० वटा मोटरसाइकल र स्कुटर भने सातवटा ल्याइने भएको छ । निर्वाचन आयुक्तले कार्यालय प्रयोजनका लागि उपयोग गर्नेगरी एउटा गाडी ल्याउन लागिएको आयोगले जनाएको छ । यसबाहेक निर्वाचनका लागि प्रयोग गर्न मसी र छेकाबार पनि भारतबाट ल्याउन लागिएको छ ।

चीनबाट खुद्रा सामग्री बढी ल्याइँदै : निर्वाचन आयोगले चीनबाट ल्याउन लागेका सामग्री भने बढी खुद्रा प्रकृतिका छन् । ग्लुस्टिक, पेन, स्ट्याम्पप्याड, टेबल घडीजस्ता सामान चीनबाट ल्याउन लागिएको आयोगले जनाएको छ । चीनबाट ११ प्रकृतिका सामग्री ल्याउँदै छ । तर, ती सबै सामग्री चीन सरकारको तर्फबाट अनुदानमा प्राप्त हुनेछन् । आयोग स्रोतका अनुसार निर्वाचनमा छिमेकी मुलुकको सहायता पनि छ भन्नका लागि मात्रै चीन र भारतबाट यस्ता सामग्री ल्याउन लागिएको हो । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ । 

चीनबाट ल्याउन लागिएका सामग्री
सामाग्री               परिणाम
जेलपेन (कालो) २७५०० प्याकेट
जेलपेन (रातो) २७५०० प्याकेट
स्केल (स्टिल) ५५००० पिस
सिजर २७५०० पिस
ग्लुस्टिक २७५०० पिस
क्यालकुलेटर २७५०० पिस
पनिचङ मेसिन २७५०० पिस
स्ट्याम्प प्याड १६५००० पिस
स्ट्याम्प प्याड इन्क ८२५०० पिस
रबर म्याट ५५००० पिस
टेबल घडी २७५०० पिस

भारतबाट ल्याउन लागिएका सामग्री
सामग्री                परिणाम
कार (आयुक्तको प्रयोगका लागि) १
स्कारपियो जिप ७
सेडन कार ४
मोटरसाइकल ३०
स्कुटर ७
डबल क्याब पिकअप ४५
मिनीबस १
माइक्रोबस १
नउड्ने पक्का मसी
छेकाबार
रबर म्याट