काठमाण्डौ । नेपालमा चुरोट पिउनेको संख्या निकै माथि छ । यही कारण चुरोटको विजिनेशको आकार पनि निकै ठूलो छ देशमा । एक तथ्यांक अनुसार विश्वभरिका करिब १ सय १० करोड मानिस चुरोटका अम्मली छन् । यसमा ८० करोड पुरुष छन् भने बाँकी अन्य समूहका व्यक्ति । यसबाट अनुमान गर्नुहोस् त चुरोट खाएर फाकिएको चुरोटको ठूटाको परिमाण कति हुन्छ होला ? एक अध्ययनका अनुसार एक वर्षमा विश्वभरि चुरोट खाएर फाकिएको ठूटाको वजन लगभग १.६९ बिलियन पाउण्ड हुन्छ । 

त्यसो त चुरोटको ठूटाको बिषयमा कसैले ध्यान दिंदैन । तर, तपाईलाई थाहा नहुनसक्छ विभिन्न मुलुकमा यही फोहोरको टुक्राको माध्यमबाट धेरैले राम्रो विजिनेश गरिरहेका छन्, त्यस्ता विजिनेशमा सयौंले रोजगारी समेत पाएका छन् । यो विजिनेशले रोजगारी मात्र सिर्जना गरेको छैन, पर्यावरणमा सुधार पनि गरिरहेको छ । पछिल्लो समय दिल्लीको दिल्ली युनिभर्सिटीका ग्राजुएट २३ वर्षीय नमन गुप्ता र उनका साथीहरुले समेत यस्तै विजिनेश गरिरहेका भारतीय मिडियाहरुले जनाएका छन् । 

२ सय बढीलाई रोजगारी
नमनका अनुसार उनलाई मानिसको चुरोट पिउने बानी र त्यसपछि उनीहरुले फाल्ने ठूटालाई देखेर विजिनेश आइडिया आएको हो । नमन र उनका साथीहरु केमिकल साइन्सका विद्यार्थी हुन् । उनीहरुले ल्याएको नयाँ आइडियाबाट अहिले २ सयले रोजगारी पाएका छन् । नमनको विजिनेशमा अहिले मानिसहरु लगातार जोडिइरहेका छन् र यही गति यस्तै गरी अगाडि बढ्ने हो भने आगामी दिनमा यो विजिनेश मानिसका लागि एक मिसाइल बन्नसक्छ । 

यस्तो छ विजिनेश
कोड इन्टरप्राइजेज एलएलपी नामको यो स्टार्टअपको काम फाकिएको सिगरेटको टुक्रालाई रिसाइक्लिंग गर्नु हो । नमनको समूहले सन् २०१६ मा यो विजिनेश सुरु गरेका थिए । उनीहरुले हरेक किसिमका रिसाइक्लिङका वन स्टप सोल्युसन उपलब्ध गराउँछन् । 

यसरी हुन्छ आम्दानी
रोचक पक्ष के छ भने यो विजिनेशमा ग्राहकलाई चुरोटको ठूटाको समेत पैसा दिइन्छ । कम्पनीले हरेक १ सय ग्राम सिगरेटको ठूटाका लागि ८० रुपैयाँ र एक किलोग्राम सिगरेटको ठूटाका लागि ७ सय भारु उपलब्ध गराउँछ । यसको अर्थ यो कम्पनीले सिगरेट पिउने र बिक्री गर्ने दुवैलाई चुरोटको ठूटा समेत बिक्री गरी आम्दानी गर्ने अवसर जुराइदिएको छ । 

यस्तो हुन्छ काम
सिगरेटको ठूटालाई ट्रिटमेन्टपछि फिल्टर गरिन्छ । त्यसपछि यो प्रयोगका लागि ९९ प्रतिशत सुरक्षित हुन्छ । यसलाई विशेष केमिकलको सहयोगबाट ट्रिटमेन्ट गरिन्छ । यसबाट बन्ने बाइप्रोडक्टको समेत जाँच गरिन्छ । सिगरेटको  ठूटा संकलन गर्नका लागि विशेष भाडो समेत बनाइएको हुन्छ र प्रत्येक सदस्यलाई यो उपलब्ध गराइन्छ । प्रत्येक ग्राहककोमा गएर उद्योगका प्रतिनिधिले हरेक १५ दिनमा चुरोटको ठूटा संकलनको काम गर्छन । नमनका अनुसार यसका ग्राहकहरु लगातार बढिरहेका छन् । 

यस्तो छ उद्देश्य
नमनले यो व्यवसाय हाल दिल्लीमा मात्र केन्द्रीत गरेका छन्, तर आउने समयमा भारतका अन्य राज्यमा पनि बिस्तार गर्ने उनको योजना छ । उनका विशेष फोकस भारतको दक्षिणी राज्यमा छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारतको अभियानसँग जोडेर आफ्नो व्यवसायलाई बिस्तारको योजना बनाएको बताएका छन् ।