काठमाण्डौ । चमात्कारिक ढंगले लोडसेडिङ हटाएर चर्चामा आएका तथा प्रचण्ड सरकारले गर्व गर्न लायक एक मात्र कामको सूत्रधार कुुलमान घिसिङलाई नेपाल प्रहरीले पनि साथ दिन थालेको छ । 

प्रहरीले विद्युत चोरीमा संलग्नताको आरोपमा नेपाल विद्युत प्राधिकरणका सुुपरभाइजरसहित १२ कर्मचारी तथा ४ व्यवसायीलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले एक पत्रकार सम्मेलन गरी प्राधिकरणका कर्मचारीको मिलेमतोमा उपभोक्ताको मिटर बिगार्ने र प्राधिकरणलाई घाटा पार्दै आएका थिए । मिटर बिगारेर कम बिलिंग गर्ने र ठूला उपभोक्तासँग मिलेर पैसा कमाउने धन्दामा प्राधिकरणका कर्मचारी संलग्न रहेका पाइएको छ ।

यस्तो काम देशैभर हुने आशंकामा प्राधिकरणको सहयोगमा अनुसन्धानलाई समेत तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले ५० हजार विल उठेको भए मिटर विगारेर ५०० देखि १ हजार मात्र विलिङ गराउँथे । बाँकी रकम भने उद्योग र विद्युत प्राधिकरणका कर्मचारीहरुले आधा आधा गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको खनालले जानकारी दिए । कतिपय उद्योगबाट कर्मचारीले मासिक ५० हजारसम्म कमिसन लिने गरेका समेत पाइएको खनालले जानकारी दिए । 

प्रहरकिा अनुसार पक्राउ पर्नेमा विद्युत प्राधिकरण बालाजुको सुपरभाइजर पदमा कार्यरत सुमन श्रेष्ठ, अछामको भट्टाकाटिया घर भई कोटेश्वरमा बस्ने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा बरिष्ठ सहायक दिलबहादुर साउद, मिटर रिडर कर्मचारीहरु हेटौंडा वितरण केन्द्रमा कार्यरत महादेव प्रधान, प्राधिकरण बानेश्वर शाखामा इलेक्ट्रिसियन पदमा कार्यरत मिटर रिडर अच्युत खड्का, रत्नपार्ककै कार्यालयमा कार्यरत मिटर रिडर ओम ढुंगाना, प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा कार्यरत मिटर रिडरहरु श्याम बस्नेत र प्रदीप शर्मा रहेका छन् । 

प्राधिकरणको रत्नपार्क कार्यालयमै कार्यरत अर्का मिटर रिडरहरु काकुर महर्जन, मनिज श्रेष्ठ, ललितपुरको लगनखेल स्थित प्राधिकरणको मिटर रिडर पदमा कार्यरत सूर्यबहादुर थापा, प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भगवान पाण्डे, विद्युत प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की पनि पक्राउ परेका छन् । 

कर्मचारीसँग मिलेमतो गरी प्राधिकरण डूूबाउने खेलमा संलग्नताको आरोपमा ४ व्यवसायी पनि पक्राउ परेका छन् । पक्रउा परेकामध्ये २ भारतीय नागरिक पनि छन् ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका १३ का मञ्जुश्री खानेपानी फ्याक्ट्रीका सञ्चालक कुमार लामा, काठमाडौंको अनामनगरमा रामेश्वर मिठाइ पसल चलाएर बसेका मोरङको कोशी हरैंचा नगरपालिकाका रमेश चुडाल, गौशालामा मिठाइ पसल चलाएर बसेका भारतीय नागरिक तपन घोष र काठमाडौंको नक्सालमा कपास उद्योग सञ्चालक अर्का भारतीय नागरिक परवेज आलम रहेका छन् ।

प्राधिकरणले पछिल्लो समय कुल उत्पादनको २६ प्रतिशतसम्म विद्युत चुहावट हुने गरेको बताउँदै आएको छ । प्राधिकरणबाट हुने गरेको २६ प्रतिशत विद्युत्त चुहावट मध्ये १४ देखि १६ प्रतिशत चोरीबाट हुने गरेको छ । विद्युत्त चोरीबाट बार्षिक ८ अरब नोक्सान हुने गरेको प्राधिकरणको बार्षिक रिपोर्टमा उल्लेख गरिएको छ । 

चुहावट तथा चोरी नियन्त्रणकै लागि प्राधिकरणले प्रधानमन्त्री कार्याल, उर्जामन्त्रालय, गृहमन्त्रालयसँग समन्वय गरी विशेष अभियान, अनुसन्धान र अनुुगमनलाई तीव्र पारेको छ । यही क्रममा प्रहरीले कर्मचारी र व्यवसायीलाई फन्दामा पारेको हो । प्राधिकरणका अनुसार अहिले देशैभर प्राधिकरणका सहसचिवको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाएर चुहावटको अनुगमन भइरहेकोछ । 

पक्राउ परेका १२ कर्मचारी र व्यवसायी दोषी ठहरिए उनीहरुमाथि विद्युत चोरी नियन्त्रण ऐन अनुसार कारबाही हुने बताइएको छ ।