काठमाण्डौ । प्यानमा दस्तावेजका लाखौ गोप्य सूचना चुहिएसँगै विभिन्न देशमा तहल्का मच्चिएको छ । 

प्यानमाको कानूनी परामर्श सेवा उपलब्ध गराउने कम्पनी मोस्याक फोन्सेकाबाट चुहिएका गोप्य दस्तावेजका कारण विभिन्न देशको राजनीति तातेको छ । 

कतिपय देशका नेता, सरकार प्रमुख तथा पूर्व प्रमुख, अनि विशिष्ट सरकारी अधिकारीहरु नैतिक संकटमा परेका छन् भने कतिपय देशमा जनस्तरबाट अकूत सम्पत्ति आर्जन गरेका नेता तथा राष्टप्रमुखहरुको विरोध भइरहेको छ । कतिपय देशमा आन्दोलन र ठूला ठूला प्रदर्शन नै सुरु भएका छन् । 

चुहिएको प्यानमा दस्तावेजमा विश्वका ७० बहालवाला तथा पूर्व राष्टप्रमुखसहित विश्वचर्चित व्यक्तिहरुको गोप्य कुरा चुहिएपछि यसले विश्वव्यापी तरंग ल्याएको छ । ती दस्तावेजमा ती राष्टप्रमुख तथा विशिष्ट व्यक्तिसम्बन्धी गोप्य सूचनाहरु समेटिएका छन् । 

यसरी गोप्य दस्तावेजमा सामेल नामहरु एकाएक विवादमा आएपछि कतिपय देशमा उनीहरुविरुद्ध कडा कारबाहीको माग गर्न थालिएको छ भने कतिपय राष्टका प्रमुखहरुले भने प्यानमा दस्तावेजको चुहावटसँगै आफू र आफन्तको बारेमा चुहिएका विषयमा स्पष्टीकरण दिइरहेका छन् । ब्रिटेनका प्रधानमन्त्री डेबिड क्यामरुनले आफ्नो पिताको नाम दस्तावेजमा आएपछि त्यस विषयमा सफाई दिएका छन् भने आइसलेण्डका प्रधानमन्त्रीले गोप्य खुलासाकै कारण नैतिक रुपमा संकटग्रस्त भई राजीनामा नै दिनुपरेको छ । गोप्य खुलासापछि प्रमुख केही देशहरुमा के भयो ? हेरौं :

ब्रिटेन


ब्रिटेनको विपक्षी दल लेबर पार्टीले प्यानमा दस्तावेजमा मुछिएका सबै ब्रिटिस नागरिकहरुको विषयमा सरकारले तत्काल छानबिन थाल्नुपर्ने कडा माग गरेको छ । प्यानमा पेपर्समार्फत ब्रिटेनका प्रधानमन्त्री डेबिड क्यामरुनका पिता इयनले एक विदेशी फण्ड चलाउनका लागि मद्धत गरेको रहस्य लिक भएको थियो । लेबर पार्टीका एक सशक्त नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री पिता लगायत जस जसले कर छल्नका लागि यस्तो गलत काम गरे वा गलत काम गर्नेहरुलाई सघाए, ती सबै नागरिकहरुको विषयमा स्वतन्त्र र निश्पक्ष ढंगले छानबिन हुनुपर्ने माग राखेका छन् । 

 

तर ब्रिटेनको प्रधानमन्त्री कार्यालयले भने नागरिक तथा विश्वलाई सम्बोधन गर्दै लिखित वक्तव्य नै जारी गरेको छ। वक्तव्यमा क्यामरुनका दिवंगत पिताले विदेशको कोषमा राखिएको पैसामा प्रधानमन्त्री क्यामरुनको कुनै पनि हिस्सेदारी नरहेको दाबी गरिएको छ । क्यामरुन स्वयम्ले समेत विदेशी टस्टमा आफ्नो लगानी वा शेयर केही पनि नभएको स्पष्ट पारेका छन् । 

आइसल्याण्ड


प्यानमा दस्तावेज चुहिएसँगै त्यसमा आफ्नो नाम मुछिएपछि आइसल्याण्डका प्रधानमन्त्री सिंगमण्डर गुनलागसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । दस्तावेजका अनुसार प्रधानमन्त्री र उनकी पत्नीको नाममा एक कम्पनी रहेको खुलेको थियो । प्रधानमन्त्री र उनको परिवारले कर छल्नैका लागि विदेशमा कम्पनी खोलेको र प्रशस्त सम्पत्ति जम्मा गरेको सूचना चुहिएसँगै त्यसको संसद भवनअगाडि विरोध प्रदर्शन सुरु भएको थियो । जनस्तरबाटै विरोध सुरु भएपछि प्धामन्त्री गनलागसनले पदबाटै राजीनामा दिएका हुन् । 

पाकिस्तान


पाकिस्तानमा पनि प्यानमा दस्तावेजले तहल्का मच्चाएको छ । सबैभन्दा बढी पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ र उनको परिवारलाई यो प्रकरणले तनाव दिएको छ । दस्तावेजमा नवाज सरिफका परिवारका सदस्यहरुको नाम समेत समावेश छ । तर सरिफका छोरा हुसैन नवाजले प्यानमा दस्तावेजमार्फत खुलासा भएको भनिएको बिषयप्रति कडा खण्डन गर्दै आफ्नो परिवार देशलाई नै घात हुने कुनै पनि गलत काममा सामेल नरहेको दाबी गरेका छन् । 

रुस


गोप्य दस्तावेजको चुहावट प्रकरणले रुसका शासकहरुको समेत टाउको दुखाएको छ । रुसका राष्टपति भ्लादिमिर पुटिनको नाम समेत दस्तावेजमा जोडिएपछि पुटिनका प्रवक्ता दमित्री पेशकोवले दस्तावेजमा पुटिनको नाम जोडिएको भन्दै निन्दा गरेका छन् । पुटिनको नाम जोडेर अनावश्यक हंगामा गर्न खोजिएको दाबी गर्दै दमित्रीले दस्तावेजमा पुटिनसम्बन्धी कुनै पनि गतिलो विषय नरहेको र जानाजान नियोजित ढंगले पुटिनको नाम जोडेर वेइज्जत गर्न खोजिएको आरोप लगाएका छन् । 

चीन


लिक भएको दस्तावेजमा चीनका वर्तमान र पूर्व सात नेताहरुको तार विदेशी फर्मसँग जोडिएको सनसनीपूर्ण खुलासा छ । यो खुलासापछि चीनमा समेत तरंग उब्जिएको छ । यी दस्तावेजहरुमा चीनका राष्टपति शी जिन पिंगका परिवारका सदस्यको नाम समेत सामेल छ । यी दस्तावेजमा चीनको शक्तिशाली स्टेण्डिङ कमिटीका सदस्य झांग गाओली र लियू यून्सानका आफन्तको नाम समेत जोडिएको छ । चिनिया विदेश मन्त्रालयका प्रवक्ता होंग लीले दस्तावेजमा जानाजान नाम मुछिएको भन्दै यी सबै दाबी तथा खुलासाहरुलाई आधारहीन भनेर खण्डन गरेका छन् । 

भारत र नेपालमा पनि बहस


मोस्याक फोन्सेकामार्फत लिक भएको १ करोड १० लाख प्यानमाका गोप्य दस्तावेजमा भारत र नेपालका केही व्यापारीहरुको नाम समेत सामेल छ । यसकारण समेत यो प्रकरणले नेपाल र भारतको बजार पनि तताएको छ । भारतमा अभिनेता अमिताभ बच्चन र केही व्यापारीहरुको नाम दस्तावेजमा मुछिएको छ भने नेपालमा समेत अजय सुमार्गी लगायतका नेताहरुको नाम सामेल छ । दुवै देशका सरकारी अधिकारीहरुले प्यानमा दस्तावेजबाट लिक भएको सूचनाको बिषयमा छानबिन थाल्ने र कालोधनलाई सेतो बनाउन विदेशमा धन जम्मा गर्नेहरुको विषयमा गम्भीर खोजीनिती थाल्ने प्रतिबद्धता जनाइरहेका छन् । 
(बीबीसी लगायतका समाचार एजेन्सीहरुबाट अनुवादित)

फोटो स्रोत : बीबीसी, रोयटर्स, एएफपी