काठमाण्डौ । ‘मार्केट मेकर’को रुपमा चिनिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले निश्कासन गर्ने भनेको एफपीओमा आवेदन आगामी चैत १ गतेदेखि खुल्ने भएको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलस्थित उच्चस्रोतले जनाएअनुसार आगामी चैत १ गतेदेखि ४ गतेसम्म इच्छुुक लगानीकर्ताले एफपीओमा आवेदन दिने व्यवस्था मिलाइन लागिएको हो । 

यसअघि स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई उसले आवेदन दिएको १८ दिनमै १ सय रुपैयाँ अंकित मूल्यमा प्रिमियम मूल्य समेत जोडी प्रति कित्ता १२ सय ९० रुपैयाँको दरले एफपीओ निश्कासनको अनुमति धितोपत्र बोर्डले दिएको थियो । 

नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको सार्वजनिक निश्कासनमा परेको अर्बौ रकम फ्रिज भएको समयमा ‘मार्केट मेकर’को रुपमा चिनिएको यो बैंकले तत्काल एफपीओ निश्कासन गर्दा तरलताको समस्या थप विकराल हुने भन्दै लगानीकर्ताको आग्रहपछि धितोपत्र बोर्डले केही ढिलो गरी एफपीओको आह्वानपत्र प्रकाशित गर्न भनेको थियो । नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ र आइपीओ बाँडफाँड भएको करिब १० दिनपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले एफपीओमा आवेदन माग्ने निश्चित भएको हो । यसले पैसाको अभावकै कारण यो बैंकको एफपीओ प्रभावित हुने छैन भने लगानीकर्ताले समेत सुविधाजनक ढंगले एफपीओमा पैसा हाल्न सक्नेछन् । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल २५ लाख ५८ हजार १ सय ४० कित्ता एफपीओ निश्कासन गर्न लागेको र लगानीकर्ताले कम्तीमा १० देखि बढीमा २५ हजार ८ सय ८० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

‘एफपीओ बिक्रीको आह्वानपत्र बिहीबार प्रकाशित हुनेछ ।’ एनएमबी क्यापिटलका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भन–‘आस्बा प्रणालीबाट आफ्नो रकम रहेको बैंकमार्फत नै आवेदन दिन सकिनेछ । यसरी आवेदन दिँदा माग गरिएको सेयरको रकम खातामै रोक्का हुन्छ र बाँडफाँड भएपछि सेयर नपरेको रकम फुकुवा हुन्छ।’

आस्वाको अनुमति पाएका नेपालका ४१ बैंक तथा बित्तीय संस्था र तिनका देशभरका ७३ जिल्लामा फैलिएका १ हजार ९ सय ७१ वटा शाखाबाट एफपीओमा दरखास्त दिन सकिनेछ । बिक्री प्रबन्धकले सकेसम्म आस्वा प्रणालीको अनुमति पाएका बैंक तथा तिनका शाखाबाट आवेदन दिन समेत लगानीकर्तालाई आह्वान गरेका छन् । कारण, यस प्रणालीबाट आवेदन दिँदा रकम बैंकमै ‘ब्लक’हुने भएकाले खातामा व्याजको नोक्सानी व्यहोर्नुपर्दैन । यस्तै, धितोपत्र बाँडफाँडपछि सेयर नपरेको रकम खातामै जम्मा हुन्छ, अरु बेलाको जस्तो चेक लिन फेरि लाइनमा बसिरहनुपर्ने झञ्झट रहदैन । बिक्री प्रबन्धकका अनुसार एनएमबी क्यापिटलको मुख्य कार्यालय र एनएमबी बैंकका देशभरका शाखा कार्यालयमा लाइन लागेरै दरखास्त दिन चाहनेका लागि समेत सोही अनुसारको व्यवस्था मिलाइनेछ । 

आस्वाबाट कसरी दिने आवेदन ?
आस्वाको अनुमति पाएका ४१ वाणिज्य र विकास बैंकमध्ये कुनै पनि बैंकको शाखा कार्यालयबाट आस्वाको फारम लिन सकिन्छ । आस्वा फारममा आवेदकको पूरा विवरण, सम्बद्ध बैंकमा रहेको उनीहरुको बैंक खाता, उनीहरुको डिम्याट खाता नम्बर तथा आफूले खरीद गर्न चाहेको सेयरको कित्ता संख्या समेत खुलाउनुपर्नेछ । 

त्यसपछि फारम सो बैंकको सम्बन्धित शाखामा दर्ता गर्नुपर्ने हुन्छ । सो क्रममा त्यसको अर्धकट्टी बैंकले आवेदकलाई उपलब्ध गराउनेछ । आवेदकले एउटा बाहेक अन्य बैंकको शाखाबाट फरक फरक आवेदन भर्न पाउने छैनन् । बैंकहरुले ५० हजार भन्दा कमको आवेदनका लागि बढीमा १ सय रुपैयाँ र ५० हजार माथिको आवेदनमा २५० रुपैयाँ सेवा शुल्क लिन पाउनेछन् । 

आस्वा प्रणाली अहिलेसम्म अनिवार्य भने गरिएको छैन । आस्वा प्रणालीबाट फारम भर्न नचाहनेका लागि परम्परागत ढंगले समेत लाइन लागेर फारम भर्ने व्यवस्था मिलाइनेछ । तर, समयको बचत गर्न चाहने, लामो लाइनमा बस्न नचाहनेका लागि भने आस्वा सिस्टमबाट आवेदन दिनु हितकारी हुनेछ । 

आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु :