पर्वत। आगामी मङ्सिरमा सम्पन्न हुने गरी चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम लक्ष्यअनुसार हुन सकेको छैन । 
 
२०७१ मङ्सिर ७ मा उद्योगपति विनोद चौधरीले दुई अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनाले आगामी मङ्सिरभित्र उत्पादन दिने दाबी गरेका थिए । तर, निर्माणको काममा भएको ढिलाइले सम्पन्न हुन समय लाग्नुका साथै लागत पनि बढ्ने अवस्था छ ।
 
आयोजना प्रमुख हरि देवकोटाका अनुसार भूकम्प र नाकाबन्दीका कारण निर्माण सामग्री बेलामा आउन नसक्दा अवधि करिब एक वर्ष अझै लम्बिने सङ्केत देखिएको छ । “अहिलेसम्म ६५ प्रतिशत प्रगति हुनुपर्ने हो”–उनले भने, “अहिले टनेलमा केही बढी ३५ प्रतिशत जति प्रगति देखिए पनि समग्रमा सन्तुष्ट हुन सकिने प्रगति छैन ।”
 
उनका अनुसार पछिल्लो समय टनेल, पावरहाउस र बाँधको काम भएको छ । यही गतिमा जाँदा २०७५ असार मसान्तसम्ममा मात्रै उत्पादन दिन सकिने अवस्थामा पुग्ने अनुमान गरिएको उनले बताए । आयोजनाको शिलान्यास लगत्तैका केही महिना कामअघि बढ्न सकेको थिएन । चौधरी ग्रुपसँग मिलेर निर्माणमा साझेदारी गर्न प्रतिबद्धता जनाएको भारतीय कोस्टर कम्पनी प्रालिले पछि लगानीमा चासो नदेखाउँदा करिब चार महिना ढिला काम सुरु भएको आयोजनाले जनाएको छ । 
 
कन्स्ट्रक्सन निर्माणको जिम्मा लिएको हिमाल हाइड्रोपावरले पछिल्लो समय फेवा कन्स्ट्रक्सनलाई सब–कन्ट्याक्टमा केही भागको काम जिम्मा लगाएको छ । हाल टनेल, बाँध र पावरहाउस निर्माणको काम धमाधम भइरहेको बताइएको छ । 
 
कास्कीको वीरेठाँटी र पर्वतको भुकताङ्लेको सिमानामा पर्ने सिमखेतमा बाँध निर्माण गरी पर्वतको देउपुर–२ बेतेनीसम्म दुई हजार ८०० मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ । आइतबारसम्ममा ९६० मिटर टनेल पूरा भएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए। हालसम्म करिब ६० करोड खर्च भएको आयोजनाका लेखा अधिकृत कृष्ण रिमालले बताए।
 
प्रमुख देवकोटाका अनुसार अहिले सर्फेसअन्तर्गत हेडवक्र्स र पावरहाउसको कामलाई प्राथमिकता दिइएको छ । आयोजनासम्म सामान ओसार्न मोदीखोलामा पुल र आवश्यक पर्ने कङ्क्रिटका लागि क्रसर उद्योग सञ्चालन भइसकेका छन् ।

बाँध र पावरहाउसको जिम्मा लिएको फेवा कन्स्ट्रक्सन अहिले २० मेगावाटको तल्लो मोदीमा व्यस्त भएकाले आगामी असारपछि त्यसले तीव्र गतिमा काम गर्ने जनाएको छ । “यतिबेला करिब दुई सय कामदार व्यस्त छन”– देवकोटाले भने, “यो अहिले सम्मकै फुल स्पिडको काम हो ।” हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल को काम भने सुरु नै नभएको उनले बताए।
 
चौधरी ग्रुपले आयोजनाको सर्वेक्षण सकेर निर्माणको अन्तिम टुङ्गोअघि नै विद्युत् प्राधिकरणसँग विद्युत् खरिद समझौता (पिपीए) गरेको थियो । सम्झौताअनुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत्गृहदेखि देउपुरसम्म चार किलोमिटर लामो प्रसारण लाइन बनाइसक्नुपर्छ ।

तर, अहिलेसम्म प्रसारण लाइन निर्माणमा चासो देखाएको छैन ।प्राधिकरणको ढिलाइका कारण आयोजना सकिए पनि उत्पादित विद्युत् प्रसारणमा समस्या हुने देखिएको आयोजना प्रमुख देवकोटाले बताए।
 
हालको पातीचौर सवस्टेसनको क्षमताले नधान्ने देखिएपछि प्राधिकरणले क्षमता विस्तारसहित पातीचौरदेखि बेतेनीसम्म सवस्टेसन निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।