काठमाण्डौ । चौधरी ग्रुपका संस्थापक लुनकरणदास चौधरीको ४५ औं दिनको पुण्य तिथिको अवसरमा शनिवार एक विशेष समारोह आयोजना गरियो । 

राजधानीको थापाथलीस्थित भूरामल लुनकरणदास भवनको परिसरमा विशेष कार्यक्रम आयोजना गरी स्वर्गीय चौधरीको योगदानको चर्चा गरियो । 

भूरामल लुनकरण दास, श्री लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिर, लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल दुहबी, बसन्त चौधरी फाउण्डेसन(बिसिएफ) र नर्भिक इन्टरनेशनलले विशेष समारोह आयोजना गरेका थिए । 

स्व. चौधरीका पिताले अत्यन्तै सानो पूँजी खर्चिदै थालनी गरेका कपडा व्यवसायलाई स्व. लूनकरणले विस्तारित र परिमार्जित गर्दै लगेका र उनलै बसालेको जगबाट चौधरी ग्रुप हाल बहुराष्ट्रिय कम्पनी बन्न सफल भएको वक्ताहरुले स्मरण गरेका थिए । 

नर्भिक इन्टरनेशनलले जारी गरेको विज्ञप्तिका अनुसार तत्कालीन समयमा उनको बिस्कुट उद्योग (श्री पशुपति विस्कुट)का उत्पादनहरू अत्यन्तै लोकप्रिय भएकै कारण भारतका उत्तरी राज्यका अधिकांश बजार कब्जा गर्न सफल भएको थियो । जर्मन प्रविधियुक्त प्लाण्टबाट उत्पादित अत्यन्तै गुणस्तरीय र स्वादिष्ट ती विस्कुटहरू भारतीय ग्राहकहरूका पहिलो रोजाईमा पर्थे । यसैगरी, नेपालमै अत्यन्तै स्तरीय जापानी प्रविधियुक्त स्टील(रत्ना स्टील इण्डष्ट्रिज)का भाडा–वर्तन, मोडर्न होजियरी उद्योग, राष्ट्रमै सर्वप्रथम फ्लोरिङ्ग एण्ड फनिर्सिङ्गको अवधारणा र भारतमा आयात प्रतिबन्ध रहेको अवस्थामा यूरोप, अमेरिका, फ्रान्स र जापानबाट उच्चस्तरिय इलेक्ट्रोनिक्स्, मेसिनरीज्, रेडियो/ट्रान्जिस्टर, टिभी, आदि आयात गरी भारतीय उपभोक्तालाई समेत आकर्षित गरेका थिए । 

श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलकी कार्यकारी निर्देशक मेघा चौधरीले आफ्ना हजूरबुबा भौतिक रुपमा टाढा भए पनि उनले छाडेका ममतामयी आदर्श, मार्गदर्शन र स्नेहाशीष सधैं आफूहरुको साथमै रहने विश्वास व्यक्त गरिन् । मेघा स्व. लुनकरण दासका छोरातर्फकी एक्ली नातिनी हुन् ।

‘मेरो शैशवकालदेखि नै उहाँले हामीलाई देखाउनु भएको मार्गदर्शन, सदैव सत्कार्यमा लाग्नु पर्ने अर्ति–उपदेश, कडा मिहिनेत, लगनशीलता, अनुशासित, धर्मपरायण, क्षमाशीलता एवम् परोपकारलाई जीवनकै अभिन्न अङ्ग मान्दै अगाडि बढ्नुपर्ने उहाँका विचारहरू आज पनि मेरो मानस पटलमा स्पष्टरुपमा देखा पर्दछन् ।’ हजूरबुबासँगको स्वर्णिम पल स्मरण गर्दै मेघाले भनिन्–‘हरेक काम गर्दा २–४ पटक सोचेर, मनन गरेर, त्यसका सम्भाव्य नतिजालाई नजर अन्दाज गर्दै सुरु गर्नुपर्ने र थालेको काम जस्तै व्यवधान आइपरे पनि छोड्नु नहुने वाणी उहाँ कथामय शैलीमा सुनाउनुहुन्थ्यो ।’ उनले स्व. चौधरीले देखाएको औद्योगिक, सामाजिक एवम् आर्थिक गोरेटाहरुमा अविचलित रुपमा लागि पर्न आफूहरुले भगिरथ प्रयासलाई जारी राख्ने प्रतिबद्धता समेत जनाइन ।

बसन्त चौधरी फाउण्डेसनका दितीय उपाध्यक्ष पारस शाक्यले ‘सामाजिक सेवा समाज उत्थानको एक प्रमुख माध्यम हो’ भन्दै यही सूत्र चौधरी परिवारको एक अक्षुण्ण परम्परा नै रहिआएको प्रष्ट्याए ।

बसन्त चौधरी फाउण्डेशन विगत केही वर्षयता सक्रिय रुपमा सामाजिक कला, संस्कृति, शिक्षा, स्वास्थ्य, धरोहर, साहित्य, खेलकूद, महिला सशक्तिकरण लगायतका क्षेत्रमा टेवा पु¥याउन कठिबद्ध रहिआएको उनले प्रष्ट्याए । नेपालमा वि.सं. १९९० को महाभूकम्प पश्चात् पीडितहरूलाई राहत पु¥याउने पवित्र उद्देश्यले काठमाडौंको इन्द्रचोक र आसपासका तत्कालीन ११–१२ वर्षीय ९–१० जना वटुकहरूद्वारा “नवयुवक सेवा समाज”का नाममा कार्यारम्भ गरेको समूह नै वि.सं. २०१० बैशाख ९ गते अर्थात् स्व. चौधरीको जन्म दिनकै दिन विधिवतरुपमा मारवाडी सेवा समितिको रुप लिन पुगेको इतिहासले प्रष्ट्याएको उनले जानकारी दिए । कस्तै दुःखमा पनि नआँत्तिने र सुख पर्दा नफुर्किने, अत्यन्तै धैर्यवान, सहनशील, क्षमाशील र धर्मपरायण स्व. चौधरीको व्यक्तित्वको एक अंश पनि आजको पुस्ताले ग्रहण गर्न सकेमा फलदायी हुने उनको विश्वास थियो । समाज र राष्ट्रप्रतिको उनको लगाव र समर्पणलाई पच्छ्याउँदै बसन्त चौधरी फाउण्डेशनले समाजसेवामा आफूलाई उभ्याउने जमर्को गरेको समेत उनले सो अवसरमा जानकारी दिए ।

कार्यक्रममा बोल्दै नर्भिक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले स्व. चौधरी चिकित्सा पेशाप्रति अगाध माया र सम्मान राख्ने व्यक्तित्व रहेका स्मरण गरे ।

उनले माइला सुपुत्र(बसन्त चौधरी)लाई पनि चिकित्सक पढाउने चाहना स्व. लुनकरणमा रहेको र माइला छोरा चिकित्सक नभए पनि चिकित्सकहरूका अभिभावक बन्न सफल भएका उनले बताए । २० वर्षको उमेरमै आफ्ना पिता भूरामल चौधरी गुमाएपछि आफ्ना पिताको व्यवसायिक बागडोर सम्हालेका स्मरण समेत गरे । ‘अत्यन्तै मिहिनेती, स्वावलम्बी, मृदुभाषी र अन्तर्मुखी स्वाभावकै कारण उहाँ बोलीमा भन्दा कर्ममा बढी तल्लीन हुन पुग्नुभयो ।’ सिंहले भने–‘आफ्नो स्वास्थ्यप्रति त्यति ख्याल नगर्दा र व्यवसायिक कार्यलाई आफ्नो प्रमुख कर्म र पूजा मान्ने कारण उहाँलाई मुटुको रोग लाग्यो । त्यतिबेला नेपालमा मुटुरोग उपचारका लागि सरकारी हस्पिटलहरूमा समेत कुनै पूर्वाधार नभएको हुँदा विदेश गई उहाँको मुटुको वाइपास शल्यक्रिया गराउनुप¥यो ।’ उनका अनुसार त्यसपछि नै स्व. चौधरीले आफ्ना छोराहरूलाई नेपालमा अन्तर्राष्ट्रिय स्तरको मुटुरोग उपचार केन्द्र खोल्न बारम्बार घचघच्याउन सुरु गरेका र त्यसैको फलस्वरुप नर्भिकको स्थापना भएको हो । स्व. चौधरीको अथक प्रयासकै कारण सुरुमा नर्भिक मुटुरोग उपचारकेन्द्रका रुपमा स्थापित हुनपुग्यो र बिस्तारै यसलाई स्वास्थ्य उपचारका अन्य विधाहरूमा समेत बिस्तारित गरिँदै एक विशिष्टस्तरको बहु–आयामिक अन्तर्राष्ट्रिय हस्पिटलका रुपमा परिणत गर्ने कार्य उनका माइला सुपुत्र बसन्तकुमार चौधरीबाट भएको उनले चर्चा गरे । 

कार्यक्रममा लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरका उपाध्यक्ष हरिहर शर्माले लुनकरणदास भौतिक रुपमा टाढा भए पनि उनले देखाएको बाटो र गरेको सत्कर्मले सधैं जिवित बनाएको बताए ।

‘आफ्नो योगदानले राष्ट्रलाई सदा उर्वर बनाउने कर्मवीरहरू कहिल्यै दिवङ्गत हुँदैनन् । त्यसैले उहाँलाई हामी कहिल्यै स्वर्गीय भन्न चाहन्नौँ ।’ उनले भने–‘लूनकरणदास चौधरी हाम्रा हृदयका एक–एक स्पन्दनमा जीवन्त बाँचिरहनु भएको छ र बाँचिरहनु हुनेछ ।’

स्व. चौधरी व्यवसायले उद्यमी र व्यापारी भए पनि आस्थाले समाजसेवी र परोपकारी रहेका उनले सम्झिए । उनकाअनुसार पूर्वाञ्चलको दुहबीमा वि.सं. २०५२ साल पौष महिनामा स्थापित ‘लूनकरणदास–गङ्गादेवी चौधरी च्यारिटी अस्पताला’मा आज पनि त्यस वरपरका नौवटा गाउँ विकास समितिका जनताले स्वास्थ्य सेवा पाउँदै आएका छन् । सो अस्पताल लुनकरणदासले नै देखेको सपनाको एउटा अंश भएको उनले जानकारी दिए । स्व. लुनकरणदास अस्पतालका संस्थापक र संरक्षक रहेका थिए । 

लुनकरणदास चौधरीको महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि अन्य मूर्धन्य साहित्यकारहरुसँग समेत राम्रो सम्बन्ध रहेको स्मरण गर्दै शर्माले धेरै साहित्यकार र स्रष्टाहरुलाई चौधरीले जिवित छँदा धेरै गुनहरु लगाएका पनि बताए । ‘उहाँको साहित्यलगायत सिर्जनात्मक क्षेत्रतिरको अनुराग आफ्नो युवावस्थामै थियो भन्ने कुरा अनुमान लगाइरहनु पर्दैन ।’ उनले थपे–‘वास्तवमा त्यही अनुरागको बिसौनी हो आजको यो श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्य–कला मन्दिर । जुन संस्थाले आफ्नो स्थापनाको दुई दशकमा यात्रा गरिरहँदा दर्जनौँ साहित्यकार, कलाकार, इतिहासकार, संस्कृतिविद्, सङ्गीतज्ञहरूलाई सम्मानित गरिसकेको छ ।’ 

कार्यक्रममा चौधरीका जेठा सुपुत्र विनोद, माइला बसन्त र कान्छा अरुण चौधरीको समेत सहभागिता थियो । चौधरी परिवारका अन्य सदस्य तथा शुभेच्छुकहरुले समेत ४५ औं दिनको  पुण्य तिथिमा सहभागी भई स्वर्गीय चौधरीलाई स्मरण गरेका थिए ।