काठमाण्डौ । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रचार प्रसारको विषयलाई लिएर राजधानीको पद्मकन्या क्याम्पसमा विद्यार्थी संगठनबीच झडप भएको छ। सोमबार भएको झडपमा दुवै पक्षले आफ्ना विद्यार्थी कुटिएको दाबी गरेका छन्। 

स्ववियु निर्वाचन प्रचार प्रसार र भित्तेलेखन विषयमा विवाद हुँदा झडप भएको हो। 

झडपमा नेविसंघले अनेरास्ववियु ‐क्रान्तिकारी) नेतृ सीता मिजारलगायतमाथि छुरा प्रहार गरेको आरोप लगाएको छ। उसले प्रहरी घटनामा रमिते बनेकोसमेत दाबी गरेको छ। 

तर, अखिल क्रान्तिकारीले भने घटनामा नेविसंघ विद्यार्थीले आफ्ना संगठनका विद्यार्थीमाथि आक्रमण गरेर घाइते बनाएको दाबी गरेको छ। अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले सोमबार विज्ञप्ति जारी गर्दै नेविसंघले आफ्ना विद्यार्थीमाथि सांघातिक आक्रमण गरेको दाबी गरेका छन्। 

नेविसंघ महामन्त्री साधना घिमिरे नेतृत्वमा आएको टोलीले अखिल क्रान्तिकारीका विद्यार्थी वसन्ता भण्डारी, गंगा दाहाल, दर्शना नेपालीलगायतमाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ। नेविसंघले भने अखिल क्रान्तिकारीका घाइते भनेर विज्ञप्तिमा भनिएकाले नै आफूहरूमाथि आक्रमण गरेको बताएको छ। 

घाइते नेविसंघ नेतृ सीता मिजारको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको नेविसंघ केन्द्रीय सदस्य शैलेन्द्र गौडेलले बताए। क्रान्तिकारीका धेरैजना मिलेर मिजारमाथि आक्रमण गरेको उनको आरोप छ। यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।