काठमाण्डौ । भनिन्छ कि जवानीमा प्राय कुनै न कुनै भूल भइदिन्छ । धेरैजसो मानिस युवा अवस्थामा गल्तीहरु गर्छन् । यस्ता गल्तीहरु त्यही समयमा त निकै साना लाग्छन् र प्राय ती गल्तीहरुलाई नजरअन्दाज समेत गरिन्छ । तर उमेर बितेसँगै महसुस हुन्छ कि जवानीका ती साना साना गल्तीहरु हाम्रो जेबका लागि कति धेरै भारि परिदिन्छ भन्ने कुरा । यस्ता गल्तीहरुले उमेर बित्दै गएपछि हामी निकै हेरानीमा पनि पर्ने गर्छौ, तर त्यसबेला सबै कुरा आफ्नो नियन्त्रण बाहिर गइसकेको हुन्छ । हामी यस्ता ५ वटा गल्तीहरुको बिषयमा बताउन गइरहेका छौ, जसले तपाईंको उमेर बित्दै गएपछि आफ्नै लागि गलपासो भइदिन्छ । यसको अर्थ, यदि तपाई जवानीमा यी गल्तीबाट बच्नुभयो भने उमेर ढल्किएपछि पछुताउनुपर्ने छैन । 

गल्ती नम्बर १
क्रेडिट कार्डको भुक्तानीमा लापरबाह
प्रमिस अधिकारीको उमेर २५ वर्षको थियो । उनको बैंकले उनको क्रेडिट कार्ड बनाएको थियो । सुरुवातका दिनहरुमा त उनले क्रेडिट कार्डबाट खरिदारीसँगै समयमै भुक्तानी समेत गरे । एक महिना उनले क्रेडिट कार्डको किस्ता बुझाएनन् । त्यसपछि जब एक महिनापछि बिल आयो, तब उनको होस उड्यो । कारण ब्याज र जरीवाना दुवै जोडिएर बिल आएको थियो । त्यसपछि उनले ब्याज र जरीवाना नतिर्ने अड्डी लिए र कयौ महिनासम्म यसैगरी बिताइदिए । केही वर्षसम्म त उनलाई थप पैसाको आवश्यकता परेन र यत्तिकै टार्न सफल पनि भए । तर उमेर बित्दै गएपछि उनलाई होम लोन आवश्यक पर्यो, तर क्रेडिट स्कोरमा उनी ब्ल्याकलिस्टेड थिए, उनले घर कर्जा पाउन सकेनन् । यति मात्र होइन, अन्य कुनै पनि बैंकले उनको नाममा क्रेडिट कार्ड बनाउन मानेनन् । नेपालमा क्रेडिट कार्ड प्रयोगको चलन बढिरहेको बेला उनी चाहि ठण्डाराम बन्नुपर्यो । 

गल्ती नम्बर २
बिमाको किस्ता समयमै नतिर्ने बानी
कतिपय मानिस बिमाको किस्ता समेत समयमै तिर्दैनन् । जसकारण कारण पछि यो निकै महंगो पर्न जान्छ । पछिल्लो केही वर्षमा बिमाको किस्ता समयमा नबुझाउनेहरुको संख्या बढ्दै गएको छ । अझ टर्म इन्स्योरेन्समा यो समस्या बढी देखिएको छ । यो यस्तो जीवन बिमा हो, जसको किस्ता कम हुन्छ, तर रिटर्न निकै पछि मात्र मिल्छ । जति उमेर ढल्कदै गयो, त्यति नै बिमाको किस्ता बढी बुझाउनुपर्ने हुन्छ । अझ उमेर ढल्किएसँगै बिमाको किस्ता बढी दिनुपर्ने हुन्छ र केही वर्ष ढिलो गरे साबिकको भन्दा दुई गुणासम्म बढी भुक्तानी गर्नुपर्ने हुन्छ । यो गल्तीका कारण तपाईंको उमेर ढल्किएपछि आर्थिक भार बढी थेग्नुपर्ने हुन्छ । 

गल्ती नम्बर ३
एजुकेसन लोनमा डिफल्टर 
युवा अवस्थामा तपाईं आफ्नो शिक्षाका लागि ऋण लिनुहुन्छ, तर त्यसको इएमआई समयमा बुझाउन पाउनुहुन्न । कारण शिक्षाको क्रममा तपाईंको ठेगाना एउटा हुनसक्छ, जागिरपछि चाहि त्यो ठेगाना अर्काे हुनसक्छ । यो समस्याबाट बैंक तपाईंसँग कम्युनिकेसनमा रहन पाउदैन, यसले तपाई लापरबाह बन्नुहुन्छ र इएमआई समयमै बुझाउनबाट जोगिन खोज्नुहुन्छ । तर जब केही समयपछि तपाईंलाई घरकर्जा, गाडी कर्जा वा व्यक्तिगत कर्जाको आवश्यकता पर्छ, तब मात्र तपाईंलाई थाहा हुन्छ कि शिक्षा कर्जामा तपाईं डिफल्टर भएका कारण त्यसले तपाईको प्रतिष्ठा खराब भइसकेको हुन्छ । यही भूलका कारण उमेर बितेपछि तपाईंले आफ्नो आवश्यकता पूरा गर्न पाउनुहुन्न । 

गल्ती नम्बर ४
बचत नगर्ने बानी
शिक्षा पूरा भएपछि जब तपाईंले जागिर पाउनुहुन्छ, तब तलब आउन थालेपछि तपाईंको खर्च बढ्छ । तपाईं फजुल खर्च पनि गर्न थाल्नुहुन्छ र बचततर्फ कुनै ध्यान नै दिनुहुन्न । तर पछि जब तपाईंको विवाह हुन्छ, बालबच्चा हुन्छन्, तब तपाईंको खर्च अझ बढ्नेछ । त्यसबेला तपाईंका लागि बचत गर्नु निकै मुश्किल पर्छ । यो समस्याले तपाईंलाई निकै पिरोल्न सक्छ । बच्चाको पढाई र अन्य आवश्यकता पूरा गर्नका लागि विवाहपछि तपाईलाई पैसाको निकै ठूलो आवश्यकता पर्छ । तर समयमै बचत नगर्ने गल्तीका कारण तपाईंका सामु ऋण लिनुको अर्को कुनै विकल्प बाँकी  रहनेछैन । 

गल्ती नम्बर ५
उमेर बितेपछि घरको खरीदारी
यदि तपाई घर बनाउन वा खरीद गर्न चाहनुहुन्छ भने सकेसम्म युवा अवस्थामै यो काम गर्नुहोस् । युवा अवस्थामा सानै मात्र किन नहोस्, घर लिनुभयो भने उमेर धेरै भएपछि  त्यो सानो घर बेचेर त्यसको पैसा डाउन पेमेन्टको रुपमा प्रयोग गरी ठूलो घर लिनका लागि कर्जा लिनसक्नुहुन्छ । जति कम उमेर भयो, त्यसबेला होम लोन लिनु फाइदा हुन्छ । जस्तो तपाईंको उमेर ३० वर्ष छ भने तपाईले किस्तामा होम लोन तिर्ने अवधि ३० वर्षसम्म पाउन सक्नुहुन्छ । तर ४० वर्षको उमेरमा होम लोन लिनुभयो भने २० वर्ष मात्र किस्ता तिर्ने समय पाउनुहुन्छ । समय जति धेरै पाउनुभयो, तपाईंले बुझाउनुपर्ने इएमआईसमेत कम हुन जान्छ । थोरै रकम किस्ताबापत बुझाउनुपर्दा तपाईले लिएको ऋण तिरेको पत्तै हुँदैन । त्यसकारण पछि मात्रै घर बनाउछु भन्ने भूल नगर्नुहोस् । जति उमेर बढी भयो तपाईंको इएमआई बढी दिन्छ । दैनिक जीवनका अन्य आवश्यकता पूरा गर्नुपर्ने बाध्यता समेत परेकोले ठूलो राशिको इएमआई तपाईंका लागि घाडो बनिदिन सक्छ ।