काठमाण्डौ । हरेक दिन दाह्री काटेर चिटिक्क निस्किने बानी तपाईको छ ? नेपाल र अन्य कैयन देशहरुमा यो बानीले तपाईंलाई खासै असर पार्दैन, तर विश्वको केही इलाका यस्ता छन्, त्यहाँ कुनै दिन तपाईं झुक्किएर पुग्नुभयो र दाह्री काट्नु भयो भने तपाईले त्यस बापत महंगो मूल्य चुकाउनुपर्छ । यस्तो क्षेत्र हो अन्तर्राष्ट्रिय आतंकवादी संगठन आइएसआइएसको इलाका क्षेत्र । पछिल्लो समय यो संगठनको आर्थिक अवस्था निकै नाजुक बन्दै गएको छ र संगठनलाई जोगाइराख्न आफ्नो आधार क्षेत्रमा यो आतंकवादी संगठनले यस्तै अजब–अजबको र सुन्दै पत्याउन नसकिने शीर्षकमा समेत कर लगाएको छ । जुन इलाकामा यो संगठनको कब्जा छ, त्यहाँ यदि कुनै पुरुषले दाह्री काट्छ भने उसले त्यस बापत संगठनलाई १० हजार ५ सय रुपैयाँ कर बुझाउनुपर्छ । यस्तो इलाकामा यदि कुनै महिलाले फिटिङ लुगा लगाउँछिन भने त्यस बापत तिनले संगठनलाई २७ सय रुपैयाँ कर तिर्नुपर्छ । 

एक अन्तर्राष्ट्रिय खोजकर्ताहरुको संस्थाले यस्तो रोचक जानकारी बाहिर ल्याएको हो । रिसर्च अनुसार आइएसआइएसको दायरा जति–जति साँघुरो हुँदैछ ,उति–उति यो संगठनलाई आर्थिक समस्याले पिरोलिरहेको छ । यस्तो समस्याबाट जुँधिरहेको इस्मालिक स्टेट(आतंकवादी संगठन) आफ्नो आधार क्षेत्रका सर्वसाधारणबाट अजब–अजब शीर्षकमा कर असूल्ने धन्दा संचालन गरिरहेको छ । पछिल्लो केही महिनादेखि आफ्नो आधारइलाका खुम्चिएसँगै यो संगठनलाई तेल खानीहरुबाट प्राप्त हुने गरेको आम्दानीमा कमी भएको छ र यसले संगठन आर्थिक रुपमा कमजोर बन्दै गएको छ । 

यो आतंकवादी संगठनले आफ्नो आधार क्षेत्रमा लगाउने करको दायरा यतिमा मात्र सीमित छैन । अरु अनेकन बिषयमा समेत यो संगठनले कर उठाउने गरेको छ । कुन–कुन शीर्षकमा कसरी यो संगठनले कर असूल्दै आएको छ, यो हेर्नुहोस् :

पूरा दाह्री खौरिए १० हजार ५ सय रुपैयाँ
दाह्री छाटेमा वा मिलाएमा ५ हजार २ सय रुपैयाँ
सिगरेटको प्याकेट राखे ४ हजार ८ सय रुपैयाँ
महिलाको साथमा सिगरेट राखे २ हजार ४ सय रुपैयाँ
महिलाले टाइट कपडा लगाएमा २ हजार ७ सय रुपैयाँ
२४ क्यारेट सुनको १ ग्रामको गहना लगाए १ हजार रुपैयाँ
महिलाले आँखाको परेला मिलाएमा १ हजार रुपैयाँ
महिलाले हातमा पञ्जा नलगाएमा ३ हजार २ सय रुपैयाँ
महिलाले जुराफ नलगाए ३ हजार २ सय रुपैयाँ

ट्रक क्रसिङ चेकप्वाइन्टमा दोब्बर कर
यो आतंकवादी संगठनले ट्रक क्रसिङ चेकप्वाइन्टमा लिइने करलाई दोब्बर गरिदिएको छ । यस्तो चेकप्वाइन्टमा पहिला प्रति ट्रक ३ हजार २ सय रुपैयाँ दिंदा हुन्थ्यो, तर अहिले त्यो बढाएर ठीक दोब्बर अर्थात ६ हजार ४ सय पुर्याइएको छ । यस अलावा सुन्नि मुस्लिम, इराक वा सिरियाको सुरक्षाफौजबाट सेवानिवृत भएका व्यक्तिहरुबाट समेत अलग्गै कर असूल्ने गरिएको छ । 

रिसर्च रिपोर्टका अनुसार यो संगठनको कुल खर्चमध्ये ५० प्रतिशत रकम करबाटै धानिँदै आएको छ । सन् २०१५, डिसेम्बरदेखि सन् २०१६ मार्चको समयमा यो संगठनले आफ्नो साबिकको आधार क्षेत्रमध्ये २२ प्रतिशत क्षेत्र गुमाइसकेको छ । यही कारण यो संगठनसामु अहिले चरम आर्थिक समस्या भएको हो ।