काठमाण्डौ । अध्यक्षका दुई प्रत्यासी नेतृत्वको प्यानलले खुलेआम लाखौं खर्च गरी जातीयता र क्षेत्रीयताको आगो सल्काएर संगठन नै तहसनहस पार्न खोजेको भन्दै भदौै २५ र २६ गतेका लागि तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोश्रो महाधिवेशन अचानक स्थगित गरिएको छ । 

दुई प्यानलले जिल्ला तथा नगर क्षेत्रको दौड सके पनि चुनावी एजेण्डा प्रस्तुत गर्ने क्रममा जातीयता र क्षेत्रीयताको आगो सल्काएको र यसले संगठन नै तहसनहस हुने देखेर महाधिवेशन करिब अढाई महिनाका लागि स्थगित गरिएको हो । 

चुनाव प्रचारका क्रममा सुनचाँदी व्यवसायीका नेताहरुले एउटा जातिले अर्को जातिविरुद्ध प्रहार गरेका, एउटा क्षेत्रले अर्को क्षेत्रको अस्तित्व नस्वीकार्ने गरी प्रचारप्रसार गरिएको, मतदाताहरुको नाम छनौटमा पनि चरम धाँदली र पैसाको खेल भएको लगायतका कारण देखाएर अधिवेशन स्थगित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले स्पष्ट पारे । ‘हाम्रो तयारी पनि पूरा भएको थिएन ।’ सोमबार साँझसम्म बसेको कार्यसमिति बैठकले अधिवेशन स्थगित गरेपछि शाक्यले बिजशालासँग कुरा गर्दै भने–‘चरम विभाजनको आगो सल्काइएपछि यी सबै कुरालाई मिलाउन समेत समय लाग्ने देखेर अढाई महिना पर सारिएको हो ।’ 

उनका अनुसार सोमबारको बैठकले अधिवेशन आगामी कात्तिक २५ र २६ गते गर्ने तय गरेको छ । 

अध्यक्ष शाक्यका अनुसार महासंघका ५० वटा जिल्ला संगठनहरु छन् र ३० वटा एशोसिएसट छन् । विशेष गरी जिल्लाबाट आउने मतदाताहरुको सूचिमा कतिपय ठाउँमा गडबडी भएको शंका गरिएको छ । ‘फेक लिस्ट पनि आएको छ कि भन्ने हामीलाई शंका छ ।’ उनले भने–‘ती बिषयमा समेत छानबिन गर्न समय लाग्नेछ ।’ 

उनले दुई उम्मेद्वारहरुले जिल्ला–जिल्लामा गएर महासंघलाई नै फुटाउने शैलीमा प्रचार प्रसार गरेकोमा असन्तुष्टि व्यक्त गरे । ‘कसैले उपत्यकाले मात्र सधैं नेतृत्व लिने भन्ने खालको आगो फैलाए । कसैले चाहि अब उपत्यका बाहिरको नेतृत्वमा आउनुपर्छ भनेर प्रचार गरे ।’ उनले थपे–‘कोहीले अब नेवारहरुले मात्र नेतृत्व चलाउने बेला गयो भन्दै प्रचार गरेका देखियो । कोहीले चाहि अब सुनारहरु पालो आएको भनेर जातीयता आगो समेत दन्काए ।’

उनका अनुसार क्षेत्रीयता र जातीयताको आगो दन्किएपछि संभावित दुर्घटनालाई रोक्नलाई पनि तत्कालका लागि अधिवेशन स्थगित गरिएको हो । 

‘राष्ट्रिय महासंघमा फूटको र विभाजनको भाव आयो ।’ उनले भने–‘मुलुकभरका सुनचाँदी व्यवसायीको महासंघ हो यो । यो कुनै जाति वा क्षेत्र विशेषको होइन । हिमाल, पहाड र तराई तथा सबै जातिका व्यवसायीको साझा संगठन हो ।’ 

उनका अनुसार अनावश्यक बखेडा झिक्ने दुवै प्यानललाई राखेर छलफल गराइनेछ र जातीयता तथा क्षेत्रीयताको गलत प्रचारलाई रोकेर मात्र आगामी अधिवेशनमा जाने योजना छ । 

यो पटक महासंघको चुनावी दौडमा पूर्व महासचिव माणिकरत्न शाक्य र हालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार सुनार नेतृत्वको प्यानल सामेल छ । सुनार तनहुँका सुनचाँदी व्यवसायी हुन् भने माणिकरत्न काठमाण्डौका । 

दुवै उम्मेद्वारले चुनाव प्रचार–प्रसारको नाममा राजनीतिक पार्टीले जस्तै पैसाको समेत खोलो बगाएका एक व्यवसायीले बताए । ‘उद्योग वाणिज्य महासंघको भन्दा पनि ठूलो पैसाको चलखेल भयो ।’ ती व्यवसायीले भने–‘तडकभडकपूर्ण प्रचार शैलीलाई रोक्न निर्वाचन समितिले समेत सकेन ।’ 

सुनचाँदी व्यवसायी महासंघको विधान अनुसार जिल्ला संगठनमा २५ वटा पसल बराबर एक मतदाता केन्द्रमा पठाउनसक्ने व्यवस्था छ । नगर संगठनबाट भने ४० पसल बराबर १ मतदाता तोकिएको छ । यो हिसाबले समेत देशभरका करिब ९ हजार व्यवसायीका पसल रहेका छन् । केन्द्रीय नेतृत्वको चुनावमा करिब साढे ३ सय मतदाता सहभागी हुने आँकलन गरिएको छ ।