जापान । जापानमा दुई घण्टाको अवधिमा १४ सय एटीएम काउण्टरहरुबाट १.४ अर्ब येन अर्थात १४४ करोड नेपाली रुपैयाँ बराबरको पैसा चोरिएको छ । 

नक्कली क्रेडिट कार्डको प्रयोगबाट एकसाथ ती एटिएमहरुबाट पैसा निकालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । 

जुन-जुन क्रेडिट कार्डबाट पैसा निकालिएको छ, ती एकाउण्टहरुको जानकारी एक साउथ अफ्रिकी बैंकबाट लिक भएको समेत पाइएको छ । यो घटना मे १५ को बिहानी समयमा जापानको राजधानी टोकियो र अन्य १६ स्थानका एटिएमहरुबाट भएको प्रहरीले जनाएको छ । 

यो आश्चर्यलाग्दो चोरीमा जापान प्रहरीले इन्टरपोलको वान्टेड लिस्टमा परेको एक अन्तर्राष्ट्रिय अपराधीहरुको गिरोहको संलग्नता हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

स्रोतका अनुसार जापानको प्रहरीले इन्टरपोलको साथ समेत लिएर साउथ अफ्रिकाका अधिकारीहरुसँग समेत सहकार्य गरी यो घटनाको बिषयमा अनुसन्धान थालेको छ । प्रारम्भमा यो घटना कसरी संभव भयो र पैसा चोरी भएका अकाउण्टहरुको जानकारी कसरी लिक भयो भन्ने बिषयमा अनुसन्धान केन्द्रीत गरिएको छ । 

स्रोतका अनुसार मे १५, बिहानैको समयमा टोकियो, कानागावा, आइची, ओसाका, फुकुओका समेत गरी अन्य १६ वटा स्थानमा रहेका एटिएमबाट पैसा निकालिएको थियो । स्रोतले जनाएअनुसार एटीएम ट्रान्जेक्सन डाटाका अनुसार १६ सय क्रेडिट कार्डको सूचना प्रयोग गरिएको पाइएको छ, यी सबै क्रेडिट कार्ड साउथ अफ्रिकन बैंकले जारी गरेको थियो । 

जापान प्रहरीले अन्तर्राष्ट्रिय स्तरकै वान्टेड लिस्टमा रहेको एक मलेशियन अपराधीहरुको समूहले यो काम गरेको हुनसक्ने आशंका व्यक्त गरेको छ । 

हरेक ट्रान्जेक्सनबाट निकालियो १ लाख येन
जापान प्रहरीकाअनुसार सातवटा बैंकको एटीएम प्रयोग गरी नक्कली क्रेडिट कार्डबाट प्रत्येक ट्रान्जेक्सनबाट १ लाख जापानी येन निकालिएको थियो । जापानमा एटीएमबाट एकपटकमा बढीमा १ लाख येन मात्र निकाल्न पाइन्छ । यस्ता कुल १४०० ट्रान्जेक्सन गरिएको थियो । जहाँ–जहाँबाट पैसा निकालिएको थियो, प्रहरीले ती क्षेत्रमा लागेका सिसी क्यामेराको फूटेज समेत अध्ययन गरिरहेको छ । 

सन् २०१२ देखि २०१३ को अवधिमा जापान लगायत विश्वका २० भन्दा बढी देशको एटीएमबाट नक्कली क्रेडिट कार्डबाट पैसा निकालिएको थियो । सो बेला विभिन्न देशमा भएका यस्ता घटनाको क्रममा करिब ४४२ करोड रुपैयाँ बराबरको पैसा चोरी भएको थियो । सो घटनामा कुन समूहको संलग्नता थियो भन्ने बिषयमा अहिलेसम्म पत्ता लाग्न नसकिरहेको बेला जापानमा फेरि ठूलो चोरीको घटना भएको हो ।