काठमाडौ । ‘एक श्रमिकको समस्या,हामी सबैको संलग्नता’ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जिफन्ट ऐक्यबद्धता कोष संचालनमा ल्याउने भएको छ । 

बिहीबार राजधानीमा आयोजित भेलामार्फत ऐक्यबद्धता कोष परिचालन नियमावली पारित गराउँदै जिफन्टले आगामी जनवरी १ देखि कोष संचालनमा ल्याउने तयारी गरेको जनाएको छ । 

जिफन्टले मातहतका मजदूर कमिटीका तर्फबाट न्यूनतम २५,००० रुपैंयाका दरले ५० लाख र जिफन्टबाट ५० लाख गरी कुल एककरोड संकलन गरी कोष संचालनमा ल्याउन लागेको हो । तर, हालसम्म ३०१ प्रतिष्ठान तथा इकाईबाट २५ हजारका दरले ७५ लाखभन्दा बढी र जिफन्टबाट ५० लाख कोषमा जम्मा भइसकेको छ । कोषमा रकम थपिने क्रम जारी रहेको जिफन्टले जनाएको छ ।

कोष संचालनका लागि जिफन्ट महासचिव विष्णु लम्सालकोे अध्यक्षतामा एक समिति समेत गठन गरिएको छ । समितिमा जिफन्टका उपमहासचिवद्धय जनक चौधरी र मञ्जु थापा, ३ जना सचिवहरु रमेश बडाल, दिपक पौडेल, गुणराम आचार्य, त्यस्तै महासंघका ठूला युनियनहरुका तर्फबाट नरनाथ लुईटेल, राजिव घिमिरे र कृष्ण रिमाल रहेका छन् । साना युनियनबाट सूर्य कुबर, कमला तामाङ बोर्डमा रहनेछन् । 

समितको घोषणा गर्दै महासंघ अध्यक्ष विष्णु रिमालले श्रमजिवी वर्गले जुध्दै आएको समस्या र अभावलाई समाधान गर्न जिफन्ट परिवारभित्र एकले सबैलाई, सबै मिली एकलाई सहयोग गर्न र राहात प्रदान गर्न कोष निर्माण गरी अगाडि बढिएको बताए । उनले भने–‘यो कोष नचल्दा नचल्दै पनि हाम्रा सदस्य कसैलाई अप्ठेरो छ भने अहिले पनि सहयोग गर्न सकिन्छ । अहिले पनि हेल्पिङ ह्याण्ड अस्पतालबाट सहयोग गराउन सक्छौं । ठूलो सपनाका साथ कोष संचालनमा ल्याइएको छ । पहिले उपचारबाट जाउँ । कोषलाई बढाउँदै श्रमिकका सन्ततीलाई पढाउने र भावी पुस्तालाई योगदान गर्ने बनाउनुपर्दछ ।’

कोषको पारित नियमावली अनुसार महासंघमा आबद्ध सदस्यहरुलाई सुरुमा दिर्घरोगहरु जस्तैः मुटुरोग, मृगौला रोग, रक्त क्यान्सर, पक्षघात जस्ता दीर्घरोगीहरुका लागि निरन्तर उपचार गराई रहन पर्ने भएमा निजहरुको हकमा एकैपटक ४०,००० राहातस्वरुप प्रदान गरिनेछ । तर मृगौला प्रत्यारोपण बाहेक डाईलोसिस सेवाका लागि नेपाल सरकारबाट सहयोग पाएको अवस्थामा भने डाइलोसिस वा प्रत्यारोपण जे गरे पनि एक पटक मात्र रकम मात्र उपलब्ध गराईने छ ।

त्यस्तै नियमित लेवी तथा शुल्क बुझाई रहेको र सदस्यता समेत नियमित गरेको सदस्यको कार्य क्षेत्रमा वा कार्यक्षेत्र भन्दा अन्यत्र दुर्घटना भई अपाङ्ग भएमा वा मृत्यु भएमा निजको परिवारलाई एकमुष्ट रकम २५,००० उपलब्ध गराईने जिफन्टले जनाएको छ ।

कोषमार्फत पहिलोपटक १० जनालाई सुबिधा प्रदान गर्ने कार्यक्रममा जानकारी दिईयो ।