काठमाण्डौ । दहीहरूको राजा जुजु धौ भक्तपुरको मौलि एवम् परम्परागत उत्पादन। दहीका पारखीहरू स्वादैबाट जुजु धौ हो कि होइन पत्ता लगाउँछन्। तर भैसी पालनमा  कमि आएसँगै जुजुधौ बचाउन दही उत्पादकहरूलाई धौ धौ परेको छ। भक्तपुरको मौलिक ट्रेडमार्क जुजु धौ संकटमा परेको छ।

सर्वसाधारणमा भक्तपुरमा बन्ने सबै दही जुजु धौ हो भन्ने भ्रम छ तर सबै दही जुजु धौ हुँदैनन्। जुजु धौ विशेष प्रविधि एवं सीपबाट अति मेहनतसाथ बनाउनुपर्छ। जुजु धौ सितिमिति दूधले बन्दैन। यसका लागि भैंसीको बाक्लो एवं ताजा दूध आवश्यक पर्छ।

दूध जति बाक्लो एवं गुणस्तरको हुन्छ जुजु धौ पनि त्यति नै स्वादिलो हुन्छ। तर दूधले मात्रै पनि जुजु धौ बन्दैन। यसका लागि जुजु धौकै विशेष बिउ चाहिन्छ। बिउबिना दही बन्दैन। त्यसैले दहीका पारखीले त्यसको स्वादबाटै जुजु धौ हो कि होइन खुट्ट्याइहाल्छन्।

जुजु धौ व्यवसायीहरूका अनुसार यसको पहिचान गर्न त्यति गाह्रो छैन। दही लिँदा माथि तर बसेको छ र त्यसलाई छुँदा कडा भए त्यो जुजु धौ हो। त्यस्तै खाँदा काजु, बदामलगायतको बेग्लै स्वाद आयो भने त्यो निश्चित रूपमा जुजु धौ हो।

स्पेसल जुजु धौ खान चक्कुले काट्नुपर्छ। चम्चाले सजिलै उबाउन मिल्ने दही जुजु धौ होइन। जुजु धौ बन्न गुणस्तरीय दूध, अब्बल व्यवसायीको विशेष प्रकारको सीप, लगन, मेहनत र उन्नत बिउमात्रै भएर हुँदैन, माटोले बनेको असल कतरा पनि चाहिन्छ।

अझ जुजु धौ बन्न पर्याप्त समय दिनुपर्छ। भुसको न्यानोमा प्राकृतिक अनुकूलता मिलाएर बनाएको दही मात्रै जुजु धौ बन्ने व्यवसायीहरूको भनाइ छ। त्यस्तै दाउरा बालेर कडा आगोमा दूध राम्ररी पकाउनुपर्छ। आजभोलि सजिलोको नाउँमा ग्यास बालेर पकाउने दूधबाट उच्च कोटीको जुजु धौ नबन्ने व्यवसायी बताउँछन्।

दूध अभाव चुलियो
बजारमा गुणस्तरीय एवं ताजा दूधको अभाव हुन छाडेपछि यहाँका दही व्यवसायीहरू जुजु धौ बचाउन आफूहरूलाई हम्मेहम्मे पर्दै आएको बताउँछन्। आजभोलि दूध बाक्लो बनाउने फ्याटको मात्रा बढाउने औषधि खुवाएर भैंसी पाल्ने प्रचलनले जुजु धौको लायक दूध पाउन छाडिसकेको व्यवसायीहरूको दुःखेसो छ।
‘बजारमा गुणस्तरीय एवं ताजा दूध नै पाइन छाडेको छ', भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैंजू भन्छन्, ‘दूध नै अभाव हुन थालेपछि जुजु धौ बचाउन धौधौ हुँदै आएको छ।'

उनका अनुसार पहिले जुजु धौ बनाउन भक्तपुरमै प्रशस्त दूध पाइन्थ्यो। भक्तपुरका नगरकोट, बागेश्वरी, सुडाल, ताथली र चित्तपोलका किसानले प्रशस्त गाईभैंसी पालेका हुन्थे। ती ठाउँबाट व्यक्तिव्यक्तिले क्यानमा बोकेर ल्याउने गुणस्तरीय एवं ताजा दूध भक्तपुरका जुजु धौ व्यवसायीलाई पर्याप्त हुने अध्यक्ष सैंजू बताउँछन्।

उनले ठाउँठाउँमा सञ्चालित डेरीहरूका कारण भक्तपुरको मौलिक उत्पादन जुजु धौको अस्तित्व जेनतेन बचाउन आफूहरू सफल हुँदै आएको सुनाए।

‘हामीसँग जुजु धौ बनाउने विधि र सीप छ', अर्का जुजु धौ व्यवसायी लक्ष्मीप्रसाद सैंजू भन्छन्, ‘तर गुणस्तरीय एवं ताजा दूध न हामीसँग छ, न त बजारमै पर्याप्त छ।'

उनले भक्तपुरमा पशुपालन गर्ने किसानको संख्यामा कमी आएसँगै आफूलाई चाहिने दूध काभ्रेका कुसादेवी, पनौती, पाँचखाल एवं देउपुरबाट ल्याउने गरेको बताए।

तर लामो दूरीबाट दूध ल्याउँदा ढुवानीका क्रममा त्यसको गुणस्तर खस्किने र जुजु धौ बनाउन समस्या हुने गरेको उनले सुनाए।

‘लामो दूरीबाट दूध ल्याउनुपर्दा त्यसको गुणस्तर खस्किन्छ', उनले भने, ‘दूध ल्याउँदै गर्दा कतै बाटो बन्द भयो वा जाम भयो भने पनि जुजु धौ बनाउन दूध काम लाग्दैन।'यो खबर आजको अन्नपूर्णपोष्टमा छापिएको छ ।