काठमाण्डौ । पशु विकास मन्त्रालय अन्तरगत पशु सेवा विभागले ५ सय जना पशु सेवा तथा स्वास्थ्य प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ । 

सरकारको एक गाउँ एक पशु सेवा प्राविधिक भन्ने स्वीकृत नीति तथा कार्यक्रम अन्तरगत सो संख्यामा पशु प्राविधिकको जेटीए कोर्स पूरा गरेकाहरुलाई यो जागिरको यो अवसर काम लाग्न सक्छ । 

विभागले नायव पशु स्वास्थ्य प्राविधिक र पशु सेवा प्राविधिक गरी दुई पदमा २ सय ५० जनाको दरले जनशक्ति माग गरेको हो । भेटरिनरी समूहको राजपत्र अनकिंत दोो श्रेणी सरहको पद हो यो । सबै गरी ७३ जिल्लामा काम गर्ने गरी जनशक्ति माग गरिएको छ । 

एक गाउँ विकास समिति एक पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ बमोजिम करारमा रहेर काम गर्न चाहने पशु प्राविधिकले वैशाख २९ गतेसम्म आवदेन दिनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

सबैभन्दा बढी सप्तरी र सर्लाहीका लागि १४ जनाको दरले जनशक्ति माग गरिएको छ भने सबैभन्दा कम मनाङ, डोल्पा र बाजुराका लागि २ जनाको दरले जनशक्ति मागिएको छ । 

आवेदन दिन चाहनेले सम्बन्धित जिल्लाको जिल्ला पशु सेवा कार्यालय वा सो कार्यालयले तोकेका सेवाकेन्द्रहरुमा दरखास्त बुझाउन सक्नेछ । दुवै पदका लागि दरखास्त दस्तुर ३ सय रुपैयाँ तोकिएको छ । एसएलसी उत्तीर्ण गरी न्यूनतम एकवर्षे जेटिए बिषयमा तालिमप्राप्त वा कृषि विषय लिई टी एसएलसी उत्तीर्णले आवेदन दिन सक्ने जनाइएको छ ।