काठमाण्डौ । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।चैत १८ गते साँझ दाइसँग झगडा गरी डेराबाट निस्किएकी सप्तरीको कञ्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राति बालकुमारी बसपार्कमा रोकिराखेको बसभित्र बलात्कार गरेको प्रहरीले जनाएको छ ।

राति साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए । सागर बा.१ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् । घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले घर पुग्ने बससम्म लगिदिने भन्दै फकाएका थिए । त्यसपछि नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । ‘ललाइ-फकाइ गरेर घर पुग्ने बससम्म पुर्याइदिन्छु भनेपछि ती युवती मानिछन् र सागरले भनेअनुसार गर्दै गइछन्’, प्रहरीले जानकारी दियो ।

मध्यरातमा जबर्जस्ती गरेपछि युवती चिच्याएको र नजिकका मान्छे जम्मा भएपछि सागर फरार भएको पाइएको छ’, ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले भन्नुभयो । चक्रपथ गुड्ने उक्त गाडी काम सकेर बालकुमारीमा पार्किङ गरेर राखिएको थियो ।

घटनालगत्तै सागर भागेर सिन्धुपाल्चोक पुगेका थिए । लगनखेल बस्दै आएका ३१ वर्षीय सागर अविवाहित हुन् । ती युवती बालकुमारीमा दाइसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ ।प्रहरी बसको मालिकमार्फत सागरसम्म पुगेको थियो । पीडित युवतीको मेडिकल रिपोर्ट आउन बाँकी छ । उनलाई प्रहरीले सिभिनमा राखेको छ । किशोरीका दाइ भने फरार छन् ।

प्रहरीको एक तथ्यांकअनुसार २०६८ देखि चार वर्षको अन्तरमा ललितपुरमा मात्र ६३ वटा बलात्कारका घटना भएका थिए । जसमा दुईवटा सामूहिक बलात्कारका घटना थिए भने एउटा चोरीको क्रममा भएको थियो । गत फागुन १५ गते च्यासलमा नौ वर्षीय बालिका बलात्कृत भएकी थिइन् । गत आर्थिक वर्षमा देशभर एक हजार ८९ वटा जबर्जस्ती करणीका मुद्दा र चार सय ५२ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।