काठमाण्डौ । संसद्को गतिरोध अन्त्य गर्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको सामेबार बसेको बैठक बिनानिश्कर्ष टुंगिएको छ । संविधान संशोधन विधेयकबारे सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडान नछाड्दा बैठक निश्कर्षविहिन बनेको हो ।

बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्कीनै परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तर संसद् अवरोधको आलोचना गरेपछि नेकपा एमाले अध्यक्ष केपी ओलीले पनि त्यसको प्रतिवाद गर्दै ‘प्रधानमन्त्रीको ओहदामा बसेर अशोभनीय अभिव्यक्ति नदिन’ सचेत गराएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच पनि चर्को बाद प्रतिवाद भएको समाचारमा उल्लेख छ । बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले भने देउवाभन्दा फरक धारणा राखेका आजको कान्तिपुर दैनिकमा खबर छ । 

एमालेले हिजो बसेको बैठकमा संशोधन प्रस्ताव फिर्ता लिए मात्र सहमति हुने स्पष्ट पारेको छ ।