काठमाण्डौ । नेपाल राष्ट्रबैंकले टुरिजम डेभलपमेन्ट बैंक, कालिञ्चोक डेभलपमेन्ट बैंक र मातृभूमि विकास बैंकको मर्जरलाई अन्तिम स्वीकृति दिएसँगै मर्जरपछि बन्ने संस्थाको संयुक्त बित्तीय कारोबार पुस २४ गतेदेखि संचालन हुने भएको छ । 

राष्ट्रबैंकले पुस ९ गते यी तीन संस्थाबीचको  मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेसँगै पुस २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने तयारी थालिएको हो । 

मर्जरपछि बन्ने बैंकको नाम टुरिजम डेभलपमेन्ट बैंक रहने र पुस २४ गतेबाट एकीकृत बित्तीय कारोबार सुरु हुने संयुक्त मर्जर कमिटीले जनाएको छ । 

एकीकृत कारोबार सुरुवात गर्नुपर्ने भएकोले यी तीनवटै बैंकको एटीएम सेवा, इन्टरनेट तथा ३६५ दिने बैकिंग सेवा पुस २२ र २३ गते बन्द हुने संयुक्त मर्जर कमिटीले शुक्रबार एक सूचना प्रकाशित गरी जनाएको छ । २४ गतेदेखि भने मर्जरमा रहेका सबै बैंकको सेवा एउटै सफ्टेवयरबाट संचालनमा हुनेछ । 

मर्जरको क्रममा टुरिजम, मातृभूमि र कालिञ्चोक विकास बैंकको सेयर स्वाप रेसियो १००ः९२ः७७ कायम भएको बताइएको छ ।