काठमाण्डौ । नेपाल टेलिकमको इतिहासमै पहिलोपटक महिला प्रबन्ध निर्देशक बन्न सफल कामिनी राजभण्डारीले आइतबारदेखि आफ्नो पद्भार ग्रहण गरेकी छिन् । 

टेलिकमको भद्रकालीस्थित मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच उनले प्रबन्ध निर्देशकको कार्यभार औपचारिक रुपमा सम्हालेकी हुन् । 

सो अवसरमा नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले आफ्ना कार्यकाललाई सफल बनाउने उद्घोष गरिन् । उनले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने, प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजनाहरु यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन् । 

उनले आउने दिनहरुमा परिवर्तित संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध र समन्वय गर्नुपर्ने आवश्यकता बताइन । 

कार्यक्रममा नेपाल टेलिकमका बरिष्ठतम नायव प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेल र मानव संसाधन व्यवस्थापन प्रमुख रविन्द्र झाले उनलाई स्वागत गर्दै उनको नेतृत्वमा कम्पनीलाई अघि बढाउन निरन्तर साथ सहयोग रहने बताए । 

नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७३ असोज ६ गतेको निर्णयले उहाँलाई तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । उनी नेपाल टेलिकममा प्रमुख प्राविधिक अधिकृत पदमा कार्यरत थिइन । उनी नेपाल टेलिकममा बरिष्ठतम नायव प्रबन्ध निर्देशकमध्ये एक थिइन । 

राजभण्डारी २०४२ असोज १ गते इञ्जिनियरको रुपमा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी थिइन । उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ ।

नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा मेनेजमेन्ट अफ टेक्नोलोजीमा स्नातकोत्तर गरेकी छिन् ।