काठमाण्डौ । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । 

डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गतेदेखि यो सेवा संचालनमा आएको हो ।

नेपाल टेलिकमले जिएसएम मोवाइलमा थ्रीजीको सेवा २०६४ जेठ १३ गतेदेखि सुरु गरेको थियो । सुरुमा काठमाडौ उपत्यकाको चक्रपथ भित्रका सीमित क्षेत्रमा मात्र सञ्चालनमा रहेको थ्रीजी सेवा हाल विस्तार भएर सबै जिल्लामा पुगेको हो ।   

थ्रीजी सेवामार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त उच्च गतिको डाटा डाउनलोड तथा अपलोड गर्ने सुविधा पनि उपलब्ध गराइएको छ । 

त्यसैगरी, कम्पनीले हालै दशैं, तिहार तथा छठको उपलक्ष्यमा जीएसएम तथा सीडीएमए दुवैमा सबैभन्दा सस्तो मूल्यमा डाटा प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले हाल प्रति एमबी ७ पैसासम्ममा नाइट डाटा प्याकेज उपलब्ध गराइरहेको छ । 

नाइट डाटा अफर राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । यो अफर अन्तर्गत रु. ४० मा ५०० एमबी र रु. ८५ मा १२०० एमबी डाटा प्रयोग गर्न सकिन्छ । नाइट डाटा अफर आगामी पुस १५ गतेसम्म उपलब्ध गराइने टेलिकम प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन । उनका अनुसार नाइट डाटा अफरका लागि जीएसएम वा सीडीएमए प्रिपेडका लागि Special500MB  वा Special1200MB लेखेर १४१५ मा र पोष्टपेडका लागि १४०० मा म्यासेज गर्नुपर्नेछ । 

त्यसैगरी कम्पनीले उपलब्ध गराएको डाटा अफर अन्तर्गत १०० एमबीको डाटा रु. ५० मा र २५० एमबीको डाटा रु. १०० मा उपलब्ध गराइएको छ । सो अवधिमा डाटा प्रयोगकर्ताले निःशुल्क रुपमा क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्छन् । यो अफर आगामी असोज २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म उपलब्ध गराइने छ । 

यो प्याकेज लिन जीएसएम वा सीडीएमए प्रिपेडका लागि Data100MB वा Data250MB लेखेर १४१५ र पोष्टपेडका लागि १४०० मा म्यासेज गर्नुपर्ने प्रवक्ता वैद्यले जानकारी दिइन ।