काठमाण्डौ । सर्वाधिक चुक्तापूँजी भएको तथा वार्षिक सरकारलाई सर्वाधिक कर बुुझाउने नेपाल टेलिकमले विभिन्न पदमा एकसाथ १ सय ५५ कर्मचारी मागेको छ । 

तलब तथा सेवासुविधा समेत आकर्षक रहेको कम्पनीले उपप्रबन्धक, इञ्जिनियर, प्रशासकीय अधिकृत, लेखा अधिकृत, टेक्निसियन जस्ता पदहरुमा कर्मचारी मागेको हो । सबैभन्दा बढी ७ औं तहको टेलिकम इञ्जिनियरमा ४० जना मागिएको छ । यस्तै, टेलिकम टेक्निसियनको पदमा ३१ जना र जुनियर टेक्निसियनमा २५ जना कर्मचारी मागिएको छ । 

आवेदन आह्वान गरिएका पदहरुका लागि देशभरका विभिन्न स्थानबाट फारम भर्न सकिने व्यवस्था मिलाइएको छ । टेलिकमका अनुसार इच्छुुकले पुल्चोकको टेलिकम कार्यालय तथा उपत्यका बाहिर रहेका क्षेत्रीय निर्देशनालयहरु विराटनर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धगढीबाट दरखास्त दिन सक्नेछन् । 

जागिर खान इच्छुकले आगामी चैत ७ गतेसम्म आवेदन दिनुपर्ने र दोब्बर दस्तुर तिरी चैत १४ गतेसम्म दिनसक्ने बताइएको छ ।