काठमाण्डौ । नेपाल टेलिकम र ओरिडु कतार (Ooredoo Qatar)  बीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । 

सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन् । 

गत मंसिर ३० गते (डिसेम्बर १५) कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र (Ooredoo Qatar)  को तर्फबाट एक्टिंग सीइओ खालिद अल मन्सुरीले हस्ताक्षर गरेका छन् । 

आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र (Ooredoo Qatar)  बीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो । 

सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं (Ooredoo Qatar) का बरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।