काठमाण्डौ । दूरसंचार प्राधिकरणबाट फोरजी सेवाको अनुमति पाएको नेपाल टेलिकम आक्रामक बजार रणनीतिसहित अगाडि बढेको र एनसेल पूँजीगत लाभकरको विवादमा जेलिएकै बेला अस्तित्वमा रहेको अर्को एक टेलिकम कम्पनीले फोरजी सेवा संचालनको अनुमति माग्दै अत्याधुनिक सेवा बिस्तारको तीव्र तयारी थालेको छ । 

काठमाडौ वरपरका ग्रामीण क्षेत्रमा अहिले पनि यसका प्रयोगकर्ताको संख्या उल्लेखनीय छ । स्मार्टले थप ६० लाख ग्राहकका लागि सेवा दिन आवश्यक स्रोत साधन तथा पूर्वाधारहरुको ब्यवस्थापन समेत गरिसकेको छ ।

सन् २००८ देखि सेवा संचालन गरे पनि नेपाल टेलिकम र एनसेल जत्तिको प्रभावकारी बन्न नसकेको स्मार्ट टेलिकमले विश्वको दूरसंचार क्षेत्रमा पछिल्लो समय भित्रिएको आधुनिक प्रविधि र सेवासहित नेपाली बजारमा दमदार बन्ने तयारी थालेको हो ।  

अरुभन्दा स्तरीय र आधुनिक सेवा संचालनको तीव्र तयारी थालिएको दाबी गर्ने यो कम्पनीले हालै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रविधि प्रयोगका लागि परीक्षणको काम समेत सम्पन्न गरेको छ ।

अबको केही महिनाभित्रै आफ्नो सेवालाई विशेष कार्यक्रमबीच ग्राहकसामु पुुर्याउने तयारी गरिरहेको स्मार्टका प्रमुख प्रशासकीय अधिकृत सजिन राजभण्डारीले बताए । बजारमा ग्राहकलाई सेवा दिइरहेको पहिलो र दोस्रो सेवाप्रदायक सँग अब स्मार्टले पनि सेवा बिस्तार गर्दा ग्राहकहरुलाई भने अर्को एउटा विश्वासिलो दूरसञ्चार सेवा उपलब्ध हुने आशा गरिएको छ । अहिले पनि ग्राहक संख्याको आधारमा स्मार्ट तेश्रो स्थानमा छ ।

नयाँ सेवा र प्रणाली सुरु गरेलगत्तै ग्राहक संख्या कम्तीमा दोब्बर बनाउने कम्पनीको लक्ष्य छ । स्मार्टले दूरसञ्चार प्राधिकरणसमक्ष फोर जी सेवाका समेत अनुमति मागिसकेको बताइएको छ । स्मार्टले आफ्नो डाटा सेन्टर तथा अन्य ठाउँमा जडान गरेका प्रविधिसमेत फोरजीमैत्री छन् । अन्तराष्ट्रिय स्तरको डाटा सेन्टर समेत स्मार्टले बनाइसकेको छ । अपरेशनका लागि चाहिने सबै उपकरण र औजार आयातका लागि अनुमति पनि पाइसकेको छ । 

यसैगरी, डाटा सेन्टरमा आउनसक्ने समस्यालाई ध्यानमा राख्दै विभिन्न ठाउँमा त्यस्ता सेन्टरहरु राख्ने कम्पनीको योजना छ । 

यो टेलिकम कम्पनीले देशको मुख्य सहरहरु मध्य पाल्पा, स्याङ्गजा, भैरहवा, बुटबल र पोखरामा सेवा पुर्याइसकेको छ भने नेपालगञ्ज, वीरगञ्ज, चितवन र काठमाण्डौमा सेवा विस्तार गर्न आफ्नो भौतिक पूर्वाधार तयार गरिसकेको छ । स्मार्ट टेलिकमले सेवा प्रयोग गरे बापत ग्राहकहरुले तिर्नुपर्ने शुल्क र विधि थप पारदर्शी बनाउने उद्देश्यले आफ्नो बिलिङ्ग र कोर समेत नयाँ जडान गरिसकेको छ । स्मार्टले आफ्नो सेवा सन् २००८ देखि ग्रामीण क्षेत्रबाट सुरु गरेको थियो । यो कम्पनीले सन् २०१३ मा मात्र यूनिफाइड लाईसेन्स पाएको थियो ।

काठमाडौ वरपरका ग्रामीण क्षेत्रमा अहिले पनि यसका प्रयोगकर्ताको संख्या उल्लेखनीय छ । स्रोतका अनुसार, स्मार्टले थप ६० लाख ग्राहकका लागि सेवा दिन आवश्यक स्रोत साधन तथा पूर्वाधारहरुको ब्यवस्थापन समेत गरिसकेको छ । हाल सिम कार्ड तथा अन्य सेवा प्रदान गर्नका लागि १५०० च्यानल नेटवर्क समेत क्रियाशील छन् भने भविष्यमा थप च्यानल नेटवर्क विस्तार गर्ने स्मार्टले जनाएको छ ।