काठमाण्डौ । अमेरिकामा एच वान बी भिजाको नियम संसोधनको तयारी भएको खबर फैलिएसँगै मंगलबार भारतीय सेयर बजारमा आइटी कम्पनीको मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । यो ठूलो गिरावटले अमेरिकामा समेत राम्रो व्यापार गरिरहेका ५ टप आइटी कम्पनीले क्षणभरमै ५३ हजार करोड रुपैयाँ गुमाएका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

मिडिया रिपोर्टका अनुुसार ट्रम्प प्रशासनले यही साता भिजा नियममाथि संसोधनको आदेश दिने संभावना छ । चर्चित आइटी कम्पनी टिसिएसको सेयर मूल्य ४.४७ प्रतिशत घटेको बताइएको छ।

यस्तै इन्फोसिसको सेयरमा समेत २.०१ प्रतिशतको गिरावट आएको छ । विप्रो कम्पनीको सेयरमा समेत १.६२ प्रतिशतको गिरावट देखिएको छ । टेक महिन्द्रा कम्पनीको सेयरमा ४.२३ प्रतिशतको पहिरो गएको छ । यस्तै, एचसिएल टेक्नोलोजीको सेयर मूल्यमा ३.६७ प्रतिशतको गिरावट आएको छ । 

सबै मिलाउँदा यी ५ आइटी कम्पनीले ५३ हजार करोड रुपैयाँ बराबरको मार्केट पूँजी गुमाउनुपरेको हो । अन्य कम्पनीको सेयरमा पनि तीव्र गिरावट देखिएको छ । 

विज्ञका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साताको अन्तसम्ममा एच वान बी भिजामा केही संसोधनको मञ्जुरी दिनसक्छन् । यसबाट अमेरिकास्थित भारतीय कम्पनीहरुलाई कर्मचारीहरुको आउटसोर्सिङ गर्न निकै कठीन हुनसक्नेछ ।