काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको सपथ लिए लगत्तै आइटी कम्पनीहरुको दुर्दिन सुरु भएका छन् । खासगरी अमेरिकामा लगानी गरेका अन्य देशका आइटी कम्पनीहरुले निकट भविष्यमै निकै ठूलो समस्याको सामना गर्नुपर्ने अवस्था आउनसक्ने स्पष्ट संकेतहरु देखिन थालेका छन् । डोनाल्ड ट्रम्पको पहिला अमेरिका र अमेरिकी भन्ने मूल मन्त्रलाई सार्थक पार्न त्यहाँको लेबर डिपार्टमेन्टले विश्वकै तेश्रो ठूलो सफ्टवेयर कम्पनी ओर्याकलले जागिर दिने बिषयमा भेदभाव गरेको आरोपमा मुद्धा दर्ता गरेको छ । डिपार्टमेन्टले यो कम्पनीले नोकरी दिंदा गोराहरु(ह्वाइट मेल इम्प्लोइज), ल्याटिन अमेरिकन तथा अफ्रिकन अमेरिकन ठाउँमा एसियन(खास गरी एशियन इण्डियन)लाई प्राथमिकता दिइरहेको आरोप लगाएको छ । यो घटनाबाट अमेरिकामा काम गरिरहेका अन्य भारतीय आइटी कम्पनी जस्तै, इन्फोसिस, टीसीएस तथा अन्य देशको लगानी रहेका दर्जनौ कम्पनीका मुश्किलका दिनहरु सुरु भएका छन् । 

अमेरिकाको लेबर डिपार्टमेन्टले ओर्याकलले विगत एक वर्षदेखिको कामदार तथा तिनले पाउने तलबको यकिन तथ्यांक दिन अस्वीकार गरिरहेको थियो । यो एक वर्षमा सो विभागले कम्पनीमा रहेको कामदारमाथिको भेदभावको समस्यालाई सुुल्झाउने कोशिश पनि गरेको थियो । छानबिनको क्रममा ओर्याकललाई फेडेरल गभरमेन्टको तर्फबाट वार्षिक लाखौं रुपैयाँको कन्ट्याक्ट पनि आएको देखिएको छ । 

मुख्य गरी यो कम्पनीमाथि प्रोडक्ट डेभलपमेन्ट तथा प्राविधिक भूमिका प्रदर्शित हुने काममा गैरएशियनहरुमाथि तीव्र भेदभाव गरेको आरोप लागेको छ । यस्तै, गोरा कामदारहरुलाई तलबमा यो कम्पनीले अन्य कामदारको तुलनामा भेदभाव गरेको आरोप समेत लगाइएको छ । 

के भन्छ कम्पनी ? 
आरोपित कम्पनी ओर्याकलले यो मुद्धा राजनीतिबाट प्रेरित रहेको छ । कुनै तथ्यांक वा तथ्यबिना लगाइएको मिथ्या आरोप भएको सो कम्पनीको दाबी छ । कम्पनीले सबै खालका कामदारहरुलाई समान अवसर, तलब तथा सेवासुविधा दिइरहेको समेत दाबी गरिएको छ । 

''एच वान बी'' भिसाले थप समस्या पार्दै
अमेरिकाका २ शक्तिशाली सांसद चक ग्रेस तथा डिक डर्बनले एच वान बी भिसासँग जोडिएको एक विधेयक अमेरिकी संसदमा यसअघि नै पेश गरिसकेका छन् । यदि यो विधेयकलाई अमेरिकी संसदबाट मञ्जुुरी मिल्यो भने भारत जस्ता विदेशी आइटी कम्पनीहरुलाई थप समस्या पर्नेछ । सो भिसामा दक्ष कामदारको रुपमा अमेरिका गएका सयौं नेपालीहरुले समेत घर फर्किनुपर्ने हुनसक्छ । कारण, यो विधेयकले यस्ता व्यक्तिलाई एच वान बी भिसा दिन प्रेरित गर्ने व्यवस्था गरेको छ, जसले उनीहरुको पढाई अमेरिकामा मात्रै पूरा गरेका होउन् ।