काठमाण्डौ । सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध लगाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमाथि सिएटलका एक न्यायाधीशले अस्थायी प्रतिबन्ध लगाइदिएका छन् । 

सिएटलका न्यायाधीशले सरकारी वकिलको त्यस्तो दाबीलाई खारेज गरिदिएका छन्, जसमा भनिएको थियो कि अमेरिकी राज्य ट्रम्पको कार्यकारी आदेशमाथि फैसला दिन सक्दैन । 

वासिंगटनस्थित बीबीसी संवादाता ब्रजेश उपाध्यायका अनुसार ट्रम्प प्रशासनका लागि यो आदेश अहिलेसम्मकै सबैभन्दा ठूलो झट्का हो । 

बोस्टनको एक अदालतले शुक्रबार मात्रै ट्रम्पको पक्षमा फैसला सुनाएको थियो । तर वासिंग्टन अबेर साँझमा सुनाइएको यो फैसलाको असर पूरा देशभर लागू हुने चर्चा भइरहेको छ । 

विदेश विभाग तथा गृह मन्त्रालयका अधिकारी यतिबेला कानूनी सल्लाहकारहरुसँग छलफल गरिरहेका छन् । ट्रम्प प्रशासनको तर्फबाट ६० हजार भन्दा बढी जुन भिजा रद्ध गरिएको छ, त्यो बिषयमा पनि के कस्तो कदम चाल्ने भन्ने बिषयको बहस समेत अमेरिकाभरि चर्किएको छ । अमेरिकी मिडियाहरुले भन्सार र इमीग्रेसनका अधिकारीहरुले सबै सीमा क्षेत्र तथा विमानस्थलहरुमा ट्रम्पको आदेश लागू गराउन सक्दो तयारी गरेको बताइरहेका छन् । 

ह्वाइट हाउसका एक अधिकारीले न्याय विभागले चाँडो भन्दा चाँडो सिएटलका न्यायाधीशले दिएको आदेशलाई रोक्न कानूनी उपचारको खोजी गर्नेछ । ह्वाइट हाउसको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ-''राष्टपतिको यो आदेश कानूनी रुपमा उचित र सही छ । उनको यो देश आदेश देश तथा अमेरिकी जनताको सुरक्षाका लागि हो । जनताको सुरक्षा उनको संवैधानिक अधिकार हो ।'' 

अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार ट्रम्पको कार्यकारी आदेशपछि ६९ हजार भिजा रद्ध गरिसकिएको छ । ट्रम्प प्रशासनका लागि तत्काल यही नै ठूलो चुनौति रहेको बताइएको छ । 

ट्रम्पले एकसाताअघि प्रवासीहरुको संख्या कम गर्नुपर्ने आवश्यकतामा जोड दिंदै कार्यकारी आदेश दिएका थिए । उनको आदेशका कारण अमेरिकी शरणार्थी प्रवेश कार्यक्रम १२० दिनका लागि रद्ध भइसकेको छ । 

यसका साथै सिरियाली शरणार्थीमाथि अमेरिका प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ भने सिरिया, इरान, इराक, लिबिया, सोमालिया, सूडान र यमनका नागरिकहरुलाई ९० दिनसम्म कुनै पनि अमेरिकी भिजा प्राप्त नहुने व्यवस्था गरिएको छ । 

वासिंगटन राज्यको महान्यायाधिवक्ता बब फर्गुसनले ट्रम्पको आदेश तथा सोसँगै लगाइएको प्रतिबन्ध गैरकानूनी र असंवैधानिक रहेको दाबी गरेका छन् । तथापि, राष्ट्रपति ट्रम्पले भने आफ्नो उद्देश्य अमेरिकालाई सुरक्षित बनाउनु रहेको प्रष्टीकरण दिइसकेका छन् ।