काठमाण्डौ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले राति ३ बजे राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लिनलाई फोन गरेर देशका लागि डलर मजबुत हुँदा फाइदा हुन्छ कि घाटा भनेर सोधेका छन् । अमेरिकाको न्यूज पोर्टल  हफिङ्ग्टन पोस्टमा छापिएको एक खबरका अनुसार ट्रम्पले राति ३ बजे फोन गरेर आफ्ना सुरक्षा सल्लाहकारलाई यस्तो प्रश्न सोधेका हुन् । स्रोतका अनुसार फ्लिनले राष्ट्रपतिलाई फोनमै डलर मजबुत हुँदा अमेरिकालाई घाटा हुन्छ कि नाफा हुन्छ भन्ने बिषयमा आफूसँग ज्ञान नभएको जवाफ दिएका थिए । उनले यो बिषयमा कुनै राम्रो अर्थशास्त्रीसँग सल्लाह लिन समेत ट्रम्पलाई सुुझाव दिएका रिपोर्टमा उल्लेख छ । 

राति गरिएको फोनको बिषयमा ह्वाइट हाउस तथा फ्लिन दुवैबाट कुनै प्रतिक्रिया आएको छैन । ट्रम्प तथा उनको टिमको भनाईमा उनको जितपछि विश्वका कयौं मुद्राको तुलनामा डलर मजबुत बन्दा यसले अमेरिकी अर्थतन्त्रलाई नोक्सानी पनि पुुग्नसक्छ । केही समयअघि वाल स्ट्रिट जर्नलमा ट्रम्पले अन्तर्वार्ता दिंदै भनेका थिए–‘हाम्रो कम्पनीले चीनका कम्पनीहरुलाई चुनौति दिन सक्दैनन्, किनभने हाम्रो मुद्रा काफी मजबुत छ । मजबुत डलरले हामीलाई मारिरहेको छ ।’ 

ट्रम्पका अलावा उनका आर्थिक सचिवले अन्य देशको मुद्राको तुलनामा डलर मजबुत हुनु अमेरिकाका लागि आम रुपमा सही नै हो, किनभने यसबाट अमेरिकामा विजिनेश गरिरहेका लगानीकर्ताको डलरमा भरोसा देखिने बताएका छन् । उनले भनेका छन्–‘तर डलरको मजबुत बन्दा छोटो समयका लागि अमेरिकी अर्थ व्यवस्थामा नकारात्मक असर समेत पर्नसक्छ ।’ 

केही दिनअघि ट्रम्पको टिमले चीन र जर्मनीमाथि आरोप लगाउँदै भनेको थियो, यी दुुई देश गलत तरिका अपनाएर आफ्नो मुद्रालाई डलरको तुलनामा नियोजित रुपमै कमजोर बनाइरहेका छन् । आम रुपमा डलरको मजबुती अमेरिकी उपभोक्ताका लागि हितकारी चाहि छ, कारण उनीहरुले विदेशमा बनेको प्रोडक्ट्स सस्तो मूल्यमै खरीद गरी उपभोग गर्न पाउँछन् ।