काठमाण्डौ । गोंगबुस्थित बीजी मलमा बिहीबारदेखि बीएसआर मुभिज सञ्चालनमा आएको छ । 

अन्तर्राष्ट्रिय जगतमा प्रचलनमा रहेको पछिल्लो प्रविधि डल्बी अटमस साउण्ड सिष्टम नेपालमा भित्र्याउँदै बीएसआरले दुईवटा अत्याधुनिक सिनेमा हल सञ्चालनमा ल्याएको हो । 

बीजी मलको आन्तरिक व्यवस्थापनमा सुरु भएको बीएसआर मुभिजको बिहीबार बरिष्ठ कलाकार नीर शाह, बीजी मलका अध्यक्ष बासु गिरीले संयुक्त रुपमा उद्घाटन गरे ।

बरिष्ठ कलाकार नीर शाहले गोंगबु क्षेत्रमा भएको बसोबासको चापले यो क्षेत्रमा सञ्चालित सिनेमा हलको व्यवसाय सफल हुने विश्वास गरे । आधुनिक प्रविधि भित्र्याएका कारण पनि बीएसआर मुभिजको बेग्लै महत्व दर्शकमा रहने उनको भनाई थियो । 

बीएसआर मुभिजको उद्घाटन गर्दै बीजी मलका अध्यक्ष बासु गिरीले मनोरञ्जनको क्षेत्रमा चलचित्रको ठूूलो हिस्सा रहेको भन्दै नयाँ प्रविधिबाट बीएसआर मुभिजले नेपाली चलचित्र बजारमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । ‘प्रविधिको विकाससँगै भित्रिएको प्रविधिको सहयोगमा चलचित्रप्रेमीले नयाँ अनुभव र मनोरञ्जन प्राप्त गर्नु हुनेछ । यसका लागि हामीले सबै किसिमका दर्शकलाई नयाँ प्रविधिमा अभ्यस्त बनाउने जमर्को गरेका छौ।’–अध्यक्ष गिरीले भने ।

बिहीबारबाट व्यवसायिक रुपमा सञ्चालनमा आएका दुई हलमध्ये अटमस वान एकसय ५० दर्शक क्षमताको छ भने अटमस टूमा एक सय ४० गरी एक पटकमा दुई सय ९० जना दर्शकले चलचित्र हेर्न सक्नेछन् । ‘फिल द थ्रिल, फिल एव्रि डायमेन्सन’ भन्ने नाराका साथ व्यवसायिक यात्रा सुरु गरेको बीएसआर मुभिजको अटमस वान हल बीजी मलको पाँचौ तल्लामा छ भने अटमस टू मलको छैठौं तल्लामा रहेको छ । 

नेपालमा पहिलो पटक भित्रिएको डल्बी अटमस प्रविधिले बीएसआर सिनेमामा चलचित्र हेर्ने दर्शकलाई चलचित्रमा भइरहेका सबै क्रियाकलाप वास्तविक जस्तै महसुस गराउने बताइएको छ । डल्बी अटमस साउण्ड सिष्टममा दर्शकले पर्दामा जुन दिशामा जस्तो वस्तु देखिन्छ, सोही दिशाबाट आवाज आएको महसुस गर्न सक्ने छन् । हेलिकप्टर उडेको दृश्यमा हलको माथिल्लो भागबाट आउने साउण्डसँगै दृश्यमा देखाइएको वातावरण अनुसारका साउण्ड सोही दिशाबाट आउने भएकाले दर्शकले चलचित्रमा भएको क्रियाकलापमा प्रत्यक्ष सहभागी भएको महसुुस गर्ने बताइएको छ । हाल नेपालमा सञ्चालनमा रहेका कुनै पनि सिनेमा हलमा यो प्रविधिमा आधारित साउण्ड सिष्टम छैन ।