काठमाण्डौ । नेपाल प्रहरीले काजमा बसेका सबै कर्मचारीलाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । निर्वाचनलाई ध्यान दिँदै प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयको यो निर्देशनसँगै शक्तिको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बसेकाहरु प्रत्यक्ष प्रभावित हुनेछन् । नेपाल प्रहरीमा अधिकाँश जुनियर अधिकृतहरु शक्ति र पैसाको आडमा लामो समयदेखि आफूलाई पायक पर्ने ठाउँमा बस्दै आएका छन् । बेला बखत सरुवा भएपनि पुनः काज मिलाइ उनीहरुले यस्तो फाइदा लिँदै आएका छन् । 

‘निर्वाचन सुरक्षाका लागि जहाँ जसको दरबन्दी हो त्यहीँ जान निर्देशन दिइएको छ,’ प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनालले भने । उनले दरबन्दी कायम भएको स्थानमा नगएका प्रहरी कर्मचारीलाई आ–आफ्नो दरबन्दी भएको ठाउँमा जान कडा निर्देशन दिइएको बताए ।

प्रहरी प्रधान कार्यालय तथा काठमाडौ उपत्यकामा अधिक संख्यामा प्रहरी कर्मचारीहरु काजमा रहेका छन् । खासगरी जुनियर अधिकृतहरु काजमा रहेको प्रधान कार्यालय स्रोतले जनाएको छ । प्रायः जुनियर अधिकृतहरु आफूलाई पायक पर्ने स्थानमा सोर्स लगाएर बस्ने गरेकाले पनि काजमा रहने प्रहरी कर्मचारीहरु ठूलो संख्यामा रहेको प्रधान कार्यालय जनाएको छ ।

एसएसपी खनालका अनुसार, केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी), लागूऔषध व्यूरो, अपराध महाशाखा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीलाई भने यस्तो निर्देशन अनिवार्य गरिएको छैन ।

तर केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत चार जना प्रहरी अधिकृतलाई भने काजमै तानेर प्रहरीको केन्द्रीय निर्वाचन सेलमा खटाइएको छ । तानिएकामध्ये वन्यजन्तु तस्करी नियन्त्रण सेलमा रहेका डीएसपी प्रवीण पोखरेल, आर्थिक व्यूरोमा कार्यरत डीएसपी रेशम पराजुली, प्रशासनमा कार्यरत डीएसपी दधिराम न्यौपाने र प्रहरी निरीक्षक रुगम कुँवरलाई प्रहरी प्रधान कार्यालय निर्वाचन सेलमा खटाइएको छ ।

स्रोतका अनुसार उनीहरुलाई सीआइवी प्रमुख डीआईजी नवराज सिलवालको विश्वास पात्र भएको भन्दै निर्वाचन सेल तानिएको हो । उनीहरु सिआइवीको काविल अधिकारीका रुपमा चिनिने गरिन्छ ।

डिएसपी पोखरेल र न्यौपानेले निर्वाचन सेलमा हाजिर गरिसकेका छन भने पराजुली र कुँवर विदामा छन् । कुँवरका ८१ वर्षीय बाबु विरामी भएका कारण धेरै दिनदेखि नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् ।

डीएसपी पोखरेल पछिल्लो समय त्रिभुवन विमानस्थलबाट बरामद साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्ने अधिकृत हुन् । सुनकाण्डको अनुसन्धानका क्रममा अनेक धाकधम्की खेपेका पोखरेललाई केही समय अघिदेखि सरुवा गराउन सुन तस्करहरू लागिपरेका भएपनि उनको सरुवा भने भएको थिएन । डिएसपी न्यौपाने पोलिग्राफका विज्ञ हुन् । यो खबर आजको राजधानीमा छापिएको छ ।