काठमाण्डौ । डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शुक्रबार सपथ लिएका छन् । सपथ ग्रहणपछि उनले नयाँ भिजन तथा युुग सुरु भएको प्रतिक्रिया दिंदै भनेका छन्–‘अबको मेरो नयाँ भिजन भनेकै अमेरिकी फ्रस्ट भन्ने हो । अमेरिकी जनताको बर्बादीका दिन अब सकिनेछन् । अब जनताले सरकारलाई नियन्त्रण गर्नेछन् ।’ ट्रम्पले जनता र सरकार साथमा मिलेर काम गर्ने र अमेरिकालाई अझ शक्तिशाली बनाउने उद्घोष गरेका छन् । ‘हो चुनौति पनि थुुप्रै छन्, तर म मेरा सबै प्रतिबद्धता पूरा गर्छु ।’–उनले थपे । सपथ ग्रहण समारोहअघि उनले ट्वीट गर्दै भनेका थिए–‘आजबाट सुरुवात हुनेछ, अब काम सुरु हुनेछ ।’ 

ट्रम्पले मुख्य रुपमा यी कुरा भने :
–हामी अब आफ्नो सम्पत्ति र नोकरी फिर्ता ल्याउनेछौ
–आजबाट नयाँ भिजन सुरु भएको छ, त्यो हो पहिला अमेरिकी
–कम्पनी तथा नेताहरुको जितमा अहिलेसम्म आम अमेरिकीको जित भएन । अब यी सबै कुरामा परिवर्तन हुनेछ र यसको सुरुवात अहिले नै यहाँबाट सुरु भइसकेकोछ । 
–अहिलेसम्म सत्तामा पुुग्नेहरुले आफ्नो मात्र बचाउ, जनताको गरेनन् । तर अबको यसको ठीक उल्टो हुनेछ । 
–हामीले कयौ वर्षसम्म अर्को देशको सेनालाई सहयोग गरेका छौ । हामीले अर्को देशको सीमाको रक्षा गर्यौं, दुुर्भाग्य आफ्नै देशको सीमाको बिषयमा ख्याल गरेनौ । 
–हामीले विदेशमा अरबौं खर्च गर्यौं, तर अमेरिकाको पूर्वाधार विकासमा ध्यान दिएनौ । 
–हामीले अरु देशलाई धनी बनायौं, तर आफ्नै लागि चाहि केही गरेनौ । 
–अब यी सबै कुरा बदलिनेछन् । अब हामी मात्र सुन्दर भविष्यतर्फ हेर्नेछौ । आजदेखि नयाँ भिजन सुरु भएको छ, त्यो हो अमेरिका फ्रस्ट(पहिला अमेरिका) ।
–ट्रम्पले सपथ ग्रहण भाषणमा गुमेको रोजगारी फिर्ता ल्याउने कुरालाई प्राथमिकता दिएका छन् ।

यसबाट अमेरिकामा काम गरिरहेका अन्य देशका नागरिकहरुका संकटका दिन सुरु हुनसक्ने संकेतको रुपमा बुझिएको छ । अझ एच वान बी भिसामा दक्ष कामदारको रुपमा अमेरिका छिरेकाहरुका लागि निकट भविष्यमै काला दिन आउनसक्छन् । ट्रम्पले भनेका छन्–‘हामी अब हाम्रो सपना फिर्ता ल्याउनेछौ । हामी अब नयाँ सडक, राजमार्ग तथा रेलमार्ग बनाउनेछौ ।’ 

ट्रम्पले भनेका छन् कि अमेरिकाको हितलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखिनेछ । ‘अब हामी चम्कनेछौ र सबैले हामीलाई पछ्याउनेछन् ।’उनले भने ।

आतंकवाद अन्त
ट्रम्पले इस्लामिक स्टेटको आतंकवाद समूल नष्ट गर्ने घोषणा गरेका छन् । उनले भनेका छन्–‘अब कुरा गर्ने समय सकियो, यो बेला एक्सन लिने समय हो । हामी हरेक चुनौतिको सामना गर्न सक्षम छौ ।’ 

ठूलो सपना देखौं
ट्रम्पले अमेरिकी जनतालाई निकै ठूलो सपना देख्न सुुझाएका छन् । ‘अब तपाईलाई कसैले पनि बेवास्ता गर्नेछैन । तपाईको सपना र सहासले हाम्रो बाटो तय गर्नेछ । हामी अमेरिकालाई फेरि सुरक्षित बनाउनेछौ र अमेरिकालाई फेरि महान बनाउनेछौ ।’ उनले थपे ।  

चीनलाई चेतावनी
साउथ चाइना महासागरको विषयमा ट्रम्पले घुमाउरो रुपमा चीनलाई चेतावनी दिए । उनले भनेका छन् कि अमेरिकाले आफ्नो सीमाको सुरक्षाका लागि कुनै कसर बाँकी राख्ने छैन । 

के होला अब ?
ट्रम्पले पहिला अमेरिका भन्ने नारामा विशेष जोड दिएका छन् । यसबाट स्पष्ट हुन्छ कि ट्रम्पले अमेरिकी कम्पनीलाई अब देशबाहिर जानबाट रोक्नेछन् । रक्षा क्षेत्र लगायतमा भारत जस्ता देशहरुले अमेरिकाको आशा गरेर बसेका छन्, यदि ट्रम्पले भनेजस्तो अमेरिकी कम्पनी बाहिर जानबाट रोकिए भने यसले भारतजस्ता देशहरुलाई निकै ठूलो झट्का लाग्नेछ । 

त्यति मात्र होइन, पहिलो अमेरिकी भन्ने कडा नीतिले गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका हजारौं गैरअमेरिकी नागरिक लेखिटइन सक्छन् । निश्चित अवधिको भीसा लिएर गएका दक्ष कामदारहरुले पनि आफ्नो स्वदेश फिर्ता हुनुपर्नसक्छ । राम्रो कम्पनीको कुस्त कमाइरहेका गैरअमेरिकीहरुले जागिर गुमाउनुपर्ने हुनसक्छ । 

ट्रम्पले अमेरिकाको पूर्वाधारको विकासमा व्यापक रुपमा लगानी बढाउने बिषय उठाएका छन् । यसबाट नेपालजस्तो देशमा समेत आइरहेको अमेरिकी सहयोग घट्ने आशंका गर्न सकिन्छ । किनभने अमेरिकी लगानीकर्ता अमेरिकामै लगानी गर्नतर्फ लाग्नेछन् । यसले अमेरिकी लगानीमा दक्षिण एशियामा संचालित ठूला आयोजनाहरुको निर्माणमा प्रभाव पर्नेछ ।